शालीग्राम सङ्ग्रहालयले विश्वको ध्यान तान्ने कांग्रेस सभापति देउवाको विश्वास

0

विर्तामोड, २२ मंसिर ।


नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कालीगण्डकी नदीमा मात्र पाइने दुर्लभ एवं बहुमूल्य शिला सङ्कलन गरी बनाइएको शालीग्राम सङ्ग्रहालयले विश्वको ध्यान तान्ने विश्वास व्यक्त गर्नुभएको छ ।
बागलुङ नगरपालिका–४ कुँडुलेस्थित श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिर परिसरमा भूमिगत ‘स्वामी श्रीधराचार्य शालीग्राम सङ्ग्रहालय’ को आज उद्घाटन गदै उहाँले अलौकिक शिला जम्मा गरी निर्माण थालिएको सङ्ग्रहालयले विश्वका धार्मिक पर्यटक आर्कषण गर्ने र लोप हुने अवस्थामा रहेका शालीग्रामको संरक्षण विश्वमै उदाहरणीय कार्य भएको बताउनुभयो । उहाँले सवालाख शालीग्राम एकै साथ दर्शन गर्न मिल्ने संरचना अन्त कतै नभएको दाबी गर्नुभयो ।
“कालिगण्डकी नदीमा मात्र पाइने शालिग्रालाई संरक्षण आवश्यक थियो”, देउवाले भन्नुभयो, “निकै नौलो गरी संरक्षण थालिएकोमा म गौरवान्वित छु ।” ६ करोड रुपैयाँको लागतमा डेढ वर्ष लगाएर सङ्ग्रहालय बनाइएको हो । शालीग्राम संरक्षणसँगै पर्यटन प्रवद्र्धनको उद्देश्यले सङ्ग्रहालय निर्माण गरिएको मन्दिरका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले बताउनुभयो । निर्माण नसकिँदै सङ्ग्रहालय अवलोकनका लागि आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गरेको थियो ।
सङ्ग्रहालयमा सवा लाख शालीग्राम, गण्डकी सभ्यताको प्रतिरूप, धार्मिक पुस्तकालय, ध्यानस्थल र वृत्तचित्र प्रदर्शनीकक्ष बनाइएको छ । एक सय मिटर लामो सुरुङको प्रवेशद्वार नजिकै कृत्रिम भूबनोटमा दामोदरकुण्डदेखि त्रिवेणीसम्मका धार्मिक तथा सांस्कृतिक सम्पदाको नमूना देखाइएको छ । सङ्ग्रहालयभित्र मुक्तिनाथ, मन्दिर, देवस्थल, हिमाल, नदीसँगै अन्य भौतिक संरचना निर्मित छन् । मुस्ताङमा पर्ने दामोदरकुण्ड कालीगण्डकी नदीको उद्गमस्थललाई समेत सङ्ग्रहालयमा सजाइएको छ । ०००००

Share.

Leave A Reply