निजगढ विमानस्थल, काठमाडौं–तराई द्रुतमार्ग र रेल्वे परियोजनामा बजेटको अभाव हुने दिन्न अर्थमन्त्री डा. खतिवडा

0

विर्तामोड, २९ पुस ।


अर्थमन्त्री डा. युवराज खतिवडाले निजगढ विमानस्थल, काठमाडौं–तराई द्रुतमार्ग र रेल्वे परियोजनामा बजेटको अभाव नहुने बताउनुभएको छ । आज प्रस्तावित निगजढ विमानस्थल र जनकपुर–जयनगर रेल्वे परियोजनाको स्थलगत अनुगमनमा पुग्नुभएका मन्त्री डा. खतिवडाले प्राविधिक काम सम्पन्न गर्न निर्देशन दिँदै स्रोतको व्यवस्थापन सरकारले गर्ने बताउनुभएको हो ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाका पदाधिकारीलाई निर्देशन दिँदै उहाँले आयोजना पूर्वको तयारी सक्न र आयोजना सुरु भएपछि स्रोतको जिम्मा अर्थ मन्त्रालयले लिने उल्लेख गर्नुभयो । राष्ट्रिय–अन्तर्राष्ट्रिय जहाँबाट भए पनि स्रोत व्यवस्थापन गरी विमानस्थल निर्माण गरिने उहाँको प्रतिबद्धता थियो । उहाँले विमानस्थल निर्माण क्षेत्रको अवलोकन गर्दै वस्ती व्यवस्थापन, जग्गा अधिग्रहण, बन तथा रूखले चर्चेको क्षेत्रफलको जानकारीसमेत लिनुभएको थियो ।
केन्द्रमा समेत यस आयोजनालाई तीव्रता दिन निरन्तर काम भइरहेको उहाँले जानकारी दिनुभयो । द्रुतमार्गमै निजगढ विमानस्थलको गेट जोडिने भएकाले यो आयोजनाले काठमाडौंको हवाई ट्राफिक चाप घटाउन महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो । देशका लागि महत्त्वपूर्ण आयोजना भएका कारण सबै पक्षले यसमा सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।
आज नै रेल्वे आयोजनाको समेत अनुगमन गर्नुभएका उहाँले रेल छिट्टै सञ्चालनमा आउने आवश्वासन जनकपुरवासीलाई दिनुभएको छ । रेलका डिब्बा बन्ने क्रममा रहेको भन्दै यस आयोजनाले पनि स्रोतको अभाव भोग्नु नपर्ने उल्लेख गर्नुभयो । ००००००

Share.

Leave A Reply