निर्धारित मितिमा बनेन, विर्तामोडको भद्रपुर रोड

0

विर्तामोड, २९ पुस ।


झापाको विर्तामोडबाट चन्द्रगढी जोड्ने भद्रपुर रोड निर्माण सक्नुपर्ने समय सकिए पनि काम सकिएको छैन । आसिस प्रेरा जेभीले निर्माणको ठेक्का लिएको बाटोमा पेटी ठेकेदार राजकिशोर गुप्ताले लामो समयसम्म काम नगरेपछि निर्माणले गति लिन नसकेको हो ।
पछिल्लो समय अर्थात् गतमंसिर ११ गतेदेखि स्थानीय निर्माण व्यवसायी केदार गिरीले काम गरिरहनु भएको भए पनि निर्धारित समयमा काम नसकिएको हो । काम सक्नु पर्ने मिति २०७६ पुस मसान्त हो । ‘मैले काम सुरु गरेपछि कामलाई तीब्र बनाएको छु’, व्यवसायी गिरीले भन्नुभयो, ‘टेलिकम, विधुत र खानेपानीको पोल र पाइपले अहिले पनि काम गर्न अप्ठ्यारो भइरहेको छ ।’ उहाँले असार मसान्तसम्ममा काम सकेर हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
‘कामको प्रगति हेरेर मात्र ठेक्काको सम्झौतामा मिति थप्छु, नत्र कानुन अनुसार अघि बढ्छु’ डिभिजन सडक कार्यालय दमकका प्रमुख श्यामकुमार यादवले भन्नुभयो, ‘पुस १४ गते सार्वजनिक खरिद ऐनको पछिल्लो संशोधन सार्वजनिक भएको छ, त्यस अनुसार अगाडि बढ्छौं ।’ सार्वजनिक खरिद ऐनले एक वर्षभित्र सबै निर्माणका काम सक्नु पर्ने व्यवस्था गरेको छ । तर, आसिस प्रेरा जेभीले सात महिना म्याद थप्न अनुरोध गर्दै डिभिजन सडक कार्यालय दमकमा निवेदन दर्ता गराएको छ । प्रमुख यादवले भन्नुभयो, ‘मिति थप्तिन, काम हेरेर निर्णय गर्छु ।’


विर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले सुरुमा ठेक्कामा उल्लेखित पैसा नपाएर काम अगाडि बढाएको थिएन । व्यवसायी गिरीले काम थालेपछि मात्र खानेपानीसँग समन्वय भएको र हाल सबै सामग्री आइसकेकाले कामले तीब्रता पाउने अध्यक्ष जलकुमार गुरुङले जानकारी दिनुभयो ।
टेलिकमका अधिकृत राम दवाडीले आफ्ना सबै पोल हटाइसकेको दाबी गर्दै कहीँ बाटामा पोल भेटे भत्काउन निर्माण व्यवसायीलाई भनिदिन चुनौती दिनुभयो । ‘हाम्रा पोल बाटोमा छैनन्, हाकिम साबले भन्नुभएको हो’, अधिकृत दवाडीले भन्नुभयो, ‘हाम्रा पोल भेटिए भत्काए हुन्छ ।’
‘प्राविधिक कारणले केही पोल हटाउन ढिलो भएको छ, दुई दिनभित्र कामसक्छु भनेर विधुतका हाकिमले भन्नुभएको छ’, झापा क्षेत्र नम्वर २ का संघीय सांसद पवित्रा निरौला खरेलले भन्नुभयो, ‘कामलाई तीब्रता दिन भएका अवरोध हटाउन लागेका छौं ।’ उहाँले सबैसँग जनप्रतिनिधिका नाताले समन्वय गरिरहेको जानकारी दिनुभयो ।


विधुत प्राधिकरणलाई पोल सार्ने सबै पैसा खातामा पठाइसकेका छौं, टेलिकमको केही बाँकी छ’, सडकका प्रमुख यादवले भन्नुभयो, ‘काम सकेपछि पैसा दिने जिम्मा हाम्रो हो, कसैले पनि पैसाका कारण काम भएन भन्न पाइने अवस्था छैन ।’ उहाँले भद्रपुर रोडको कामलाई सम्पन्न गर्न कार्यालयको तर्फबाट कुनै कसर नछोड्ने प्रतिवद्धता जनाउनु भएको छ । ०००००

Share.

Leave A Reply