वालुवाटारको जग्गा कब्जा गर्ने विप्लवको घोषणा चर्चामा आउने दाउ मात्र : सञ्चार मन्त्री बाँस्कोटा

0

विर्तामोड, २ पुस ।

सरकारले वालुवाटारको जग्गा कब्जा गर्ने विप्लवको घोषणालाई चर्चामा आउने दाउमात्र भएको बताएको छ । ललिता निवासको सरकारी जग्गामा विप्लव समूहले झण्डा गाडेको बारेमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सार्वजनिक चासो भएको विषयमा कुनै एक्सन गरेर चर्चामा आउने दाउमात्र भएको बताउनुभयो ।
‘सार्वजनिक चासोको विषयमा कुनै त्यस्तो एक्सन र्गयो भने शक्तिशाली देखिन्छ कि भन्ने होला’ मन्त्रिपरिषदको निर्णय सुनाउन आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो ‘त्यसैले त हामीले आतंकवादी क्रियाकलाप भनेका हौं, हामीले जे भन्दै आएका थियौं त्यो पुष्टि भयो ।’ विप्लवले कब्जा गर्नुको कुनै अर्थ नहुने मन्त्री बास्कोटाले बताउनुभयो । ‘झण्डा गाडेर केही हुनेवाला छैन । सरकारले जोगाउन लागेको भए पो बहादुरी गर्नु, सरकार आफैले छानबिन गर्न लागेको छ । त्यसको के अर्थ हुन्छ ?’ उहाँले भन्नुभयो । मन्त्री बाँस्कोटाले बालुवाटारको जग्गा नेपाली जनताको भएको दाबी गर्नुभयो ।
यस्तै, सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समितिमा निजी क्षेत्रको प्रतिनिधित्व नगराउने निर्णय गरेको छ । हाल प्राधिकरण सञ्चालक समितिमा निजी वायु सेवा कम्पनीको तर्फबाट दुई जना सञ्चालक रहने व्यवस्था नै परिवर्तन गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले निजी क्षेत्रका प्रतिनिधिको सट्टा विज्ञ राख्ने गरी निर्णय गरिएको बताउनुभयो । वायुसेवा सञ्चालन गर्ने संस्थाका सञ्चालक मध्येबाट मनोनीत दुई जना सदस्यको सट्टा नागरिक उड्डयन सम्बन्धमा विशेष योग्यता हासिल गरेका व्यक्तिबाट कम्तीमा एक महिलासहित दुई जना मनोनीत गर्ने निर्णय भएको मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो ।
त्यसैगरी, सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री बाँस्कोटाले बालुवाटारबाट कसले ज्यान मार्ने धम्की दिएको हो प्रष्ट पार्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावललाई आग्रह गर्नु भएको छ ।
रावलले पछिल्लो समय आफूलाई बालुवाटारबाटै ज्यानमार्ने धम्की दिएको दाबी गर्दै आउनु भएको छ । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटालाई यसबारे सोधिएको थियो ।
जवाफमा सञ्चारमन्त्री बाँस्कोटाले प्रतिप्रश्न गर्नुभयो, ‘प्रधानमन्त्री कसैको ज्यान लिने हुनुहुन्छ र ?
फरक विचार राखेकै कारण कसैलाई पनि ज्यान मार्ने धम्की दिन नमिल्ने भन्दै उहाँले बालुवाटारबाट कसले र कुन फोन नम्बरबाट धम्की दियो भन्ने प्रष्ट पार्न नेता रावललाई आग्रह गर्नुभयो ।
‘प्रधानमन्त्री नेकपाकै हुनुहुन्छ, उहाँ पनि नेकपाकै नेता हुनुहुन्छ’, उहाँले भन्नुभयो, ‘उहाँलाई सरकारले सुरक्षा उपलब्ध गराएकै छ, पछुवा पनि छ । त्यसैले उहाँको ज्यानमाथि सुरक्षा खतरा छ भन्ने लाग्दैन ।’ प्रधानमन्त्रीले आफ्ना कार्यकर्तालाई सिध्याउन तरबार वा खल्तीमा गोलीको माला लिएर हिड्नुहुन्छ भनेर सोच्नु गलत हुने सञ्चारमन्त्री बाँस्कोटाले बताउनुभयो । ०००००००

Share.

Leave A Reply