मनाङ ‘ए’ डिभिजन लिग फुटबलमा पुनः शीर्ष स्थानमा पुग्न सफल

0

विर्तामोड, १० माघ ।


साविक विजेता मनाङ–मस्र्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पुनः शीर्ष स्थानमा पुग्न सफल भएको छ ।
आज दशरथ रंगशालामा भएको पहिलो खेलमा पुछारको सरस्वती युथ क्लबलाई १–० ले पराजित गर्दै मनाङ शीर्ष स्थानमा पुगेको हो । मनाङलाई जिताउन खेलको ४६औं मिनेटमा विमल रानाले निर्णायक गोल गरेका थिए । मनाङले गोल गर्ने थुप्रै प्रयास गरे पनि सरस्वतीका गोलकिपरले विफल बनाएका थिए ।
जितसँगै मनाङ कम्तीमा २४ घण्टा शीर्ष स्थानमा रहने भएको हो । ८ खेलबाट १६ अंक जोडेको मनाङले गोल अन्तरमा एक खेल कम खेलेको त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लबलाई पछि पार्दै शीर्ष स्थान ओगटेको हो ।
आर्मीले भोलि मध्याह्न १२ बजे न्यूरोड टिम (एनआरटी) सित खेल्दैछ ।
आज नै भएको दोस्रो खेलमा च्यासल युथ क्लब विजयी भएको छ । च्यासलले ब्रिगेड ब्वाइज क्लब (बीबीसी)लाई १–० ले हराएको हो । ‘इन्जुरी’ समयको दोस्रो मिनेटमा कप्तान सन्तोष साहुखलले गोल गर्दै च्यासललाई महत्वपूर्ण ३ अंक दिलाएका थिए ।
जितसँगै च्यासल ९ अंकसहित नवौं स्थानमा पुगेको छ । पराजित बीबीसी ८ अंकसहित दशौं स्थानमा झरेको छ ।
भोलिको दोस्रो खेलमा दिउँसो ३ बजे फ्रेन्ड्स क्लब र संकटा क्लब खेल्नेछन् । संकटा ९ अंकसहित आठौं स्थानमा छ भने फ्रेन्ड्स ८ अंकबाट ११औं स्थानमा छ । ०००००००

Share.

Leave A Reply