कांग्रेसमा कुरा मिल्यो, अधिवेशनको कार्यतालिका परिवर्तन गर्ने

0

विर्तामोड, १० माघ ।


महाधिवेशनको मिति यथावत राखी तल्ला निकायको अधिवेशनको कार्यतालिका परिवर्तन गर्नेगरी कांग्रेस सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच सहमति भएको छ । देउवा निवास बुढानिलकण्ठमा लञ्चसहित ६ घण्टा बसेको शीर्ष नेताहरुको बैठकले विवाद टुंग्याएको हो । उपसभापति विमलेन्द्र निधिले १४ औं महाधिवेशन तोकिएको मितिमा गर्नेगरी मातहतका अधिवेशनको मिति परिवर्तन गरेर सहमति भएको जानकारी दिनुभयो ।
यस्तै क्रियाशील सदस्यता छानवीन गर्न समिति बनाउन पनि सभापति शेरबहादुर देउवा तयार भएपछि विवाद टुंगिएको हो । आजको बुढानिलकण्ठ बैठकमा असन्तुष्ट अर्का नेता कृष्णप्रसाद सिटौला पनि सहभागी हुनुहुन्थ्यो ।
‘पुस ११ गतेको केन्द्रीय कार्यसमितिले गरेको निर्णय अनुरुप पार्टीको १४ औं महाधिवेशन २०७७ फागुन ७ देखि १० गतेसम्म गर्ने र मातहतका अधिवेशनको कार्यतालिका परिवर्तन गर्ने गरी सहमति बन्यो,’ निधिले भन्नुभयो, ‘परिवर्तित अधिवेशन कार्यतालिका आगामी केन्द्रीय कार्यसमिति बैठकमा पेश हुनेछ ।’ केन्द्रीय कार्यसमिति बैठक माघ १३ गते सोमबार बस्ने तय भएको पनि उहाँले बताउनुभयो ।
पुस ११ गते केन्द्रीय कार्यसमिति बैठकले बहुमतबाट १४ औं महाधिवेशनको मिति कार्यतालिकासहित तय गर्ने, महाधिवेशन प्रयोजनार्थ पार्टीका क्रियाशील सदस्यता सम्बन्धी विधानका व्यवस्था निलम्बन गर्ने, विभागको संख्या बढाउने र तरुण दलको म्याद थप्ने निर्णय गरेपछि पौडेल समूह असन्तुष्ट बनेको थियो ।
त्यही असन्तुष्टिलाई सहमतिबाट टुंग्याएर महाधिवेशनको वातावरण बनाउन शीर्ष नेताबीच छलफल भएको थियो ।
केन्द्रीय सदस्य मिनेन्द्र रिजालले विवाद समाधान गर्ने सैद्धान्तिक सहमति बनेको बताउनुभयो । ‘पार्टीभित्रको आन्तरिक विवाद हल सकारात्मक तरिकाले गर्ने सैद्धान्तिक सहमतिमा हामी पुगेका छौ,’ रिजालले भन्नुभयो, ‘ठोस सहमतिको खाका आगामी केन्द्रीय कार्यसमिति बैठकमा पेस हुन्छ ।’
बैठकले क्रियाशील सदस्यता छानबिन गर्नका लागि समिति गठन गर्ने निर्णय गरेको छ । त्यस्तै भातृसंस्था नेपाल विद्यार्थी संघको महाधिवेशन आयोजक समिति गठन गर्ने सहमति पनि बैठकमा भएको छ । ११ औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महरले राजीनामा दिएको दिनसम्म ३२ बर्ष उमेर ननाघेकाले १२ औं महाधिवेशनमा उम्मेदवार बन्न पाउने, महाधिवेशन आयोजक समितिमा बसेकाहरु महाधिवेशनमा उम्मेदवार बन्न नपाउने गरी सहमति निकालिएको निधिले जानकारी दिनुभयो । अहिलेको महाधिवेशन आयोजक समिति भने ३२ बर्ष माथिबाट नै बनाउने सहमति नेताहरुबीच छ । ‘नेविसंघको महाधिवेशन आयोजक समिति गठन गर्ने सहमति बनेको छ,’ निधिले भन्नुभयो, ‘सहमतिमै महाधिवेशन आयोजक समिति बन्छ ।’
बैठकमा देउवा, पौडेल, निधि र सिटौलाका साथै महामन्त्रीद्वय सशांक कोइराला र पूर्णबहादुर खड्का तथा नेताहरु प्रकाशमान सिंह, मिनेन्द्र रिजाल लगायतको सहभागिता थियो ।
बहुमतले महाधिवेशनको कार्यतालिका सहितको मिति तोकेको भन्दै पौडेल समूहले गत २६ मंसिरदेखि केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गर्दै आएको थियो । सोमबारको बैठकमा सहभागी हुने रिजालले बताउनुभयो । ००००००

Share.

Leave A Reply