नेपालका तीन करोड जनता पाल्न देशको कृषि, धार्मिक तथा पर्यटकीय स्थल काफी छ : आन्तरिक मामिला मन्त्री कार्की

0

विर्तामोड, १० माघ ।


प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले नेपालका तीन करोड जनता पाल्नका लागि देशको कृषि, धार्मिक तथा पर्यटकीय स्थल काफी भएको बताउनु भएको छ । हवाई यात्रा, बाटोघाटो, धार्मिक तथा पर्यटकीय स्थल र सुरक्षाको राम्रो प्रवन्ध गर्न सके ३ करोड जनता पालिन समस्या नहुने मन्त्री कार्कीले जिकिर गर्नुभयो । उहाँले केही बर्षभित्रमा यी सवै विकासका काम हुनेमा दुईमत नरहेको बताउनु भएको छ ।
झापाको अर्जुनधारा–१ मा रहेको साधुटारमा आज आयोजित स्वाध्यशाला भवन उद्घाटन तथा ५ जना सामाजिक व्यक्तित्वलाई सम्मानपछि सम्बोधन गर्दै मन्त्री कार्कीले सो कुरा बताउनु भएको हो ।
उहाँले साधुटारको धार्मिक स्थलका लागि आफ्नोतर्फबाट आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्न पनि पछि नपर्ने बताउनुभयो । ‘राम्रो गुरुयोजनासहितको प्रस्ताव अघि सार्नुस्’ मन्त्री कार्कीले भन्नुभयो, ‘२÷४ अर्व रकम राज्यबाट यो धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि छुट्याउन म पहल गर्छु ।’
नेपाल अन्यदेशको तुलनामा धेरै सानो भए पनि सवैभन्दा धेरै जातजाती तथा भाषाभाषी रहेको र अन्य मुलुकमा यस्तो विविधता नभएको मन्त्री कार्कीले बताउनुभयो । नेपालका राम्रा व्यक्तिहरु अन्य मुलुकमा पलायन हुने प्रवृत्ति बढेकाले नेपालमा भन्दा वाहिरी मुलुकमा नेपालका भाषा, धर्म र संस्कृति त्यहाँका मानिसहरुले जान्ने गरेको उहाँले बताउनुभयो । ‘मालचाहि हामीसँग छ, तर चाल पाएका छैनौं’, मन्त्री कार्कीले भन्नुभयो ।
उहाँले साधुटारको इतिहास अध्ययन गर्न समेत आग्रह गर्दै स्थानीय सरकार र प्रदेश सरकारको बजेटबाट पनि केही रकम यो धार्मिक स्थलका लागि छुट्याउन पहल गर्ने बताउनुभयो ।


पाठशालाका अध्यक्ष केदारनाथ खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत ४४ औं बार्षिक अनुष्ठान आयोजक समितिका संयोजक लक्ष्मीप्रसाद खतिवडाले गर्नु भएको थियो ।
कार्यक्रममा अर्जुनधारा वडा नं. १० अध्यक्ष वलदेवसिंह गोम्देन, उधोगी तथा व्यवसायीहरु कुमारमणि पोखरेल, रोशन प्रसाई, शिवकुमार अग्रवाल र आदित्य पराजुलीलाई पाठशालालाई सहयोग गरेको भन्दै सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानित व्यक्तित्वका तर्फबाट गोम्देन, नेपाल प्रगतिशिल प्राध्यापक संगठनका केन्द्रीय सदस्य तथा महेन्द्र बहुमुखी क्याम्पस धरानका उपप्राध्यापक गोपीकृष्ण खतिवडा लगायतले शुभकामना मन्तव्य राख्नुभयो । कार्यक्रममा अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाले साधुटारको विकासका लागि सक्रिय हुने बताउनुभयो । कार्यक्रमको सञ्चालन पुराण आयोजक समितिका सचिव हरि नेपालले गर्नुभयो । सो पाठशालामा एकसय ४० जना बिद्यार्थी र १० जना गुरुहरु रहेका छन् । ००००००

Share.

Leave A Reply