श्रीस्वास्थानी ब्रतकथा कति ठिक कति बेठिक ?

0

 मायामितु ।।


यतिखेर हिन्दु धर्म सम्प्रदायमा श्रीस्वस्थानी पुजा चलिरहेको छ । पौष शुक्ल पुर्णिमाका दिन सुरु भएर माघ शुक्ल पुर्णिमाका दिन खत्म हुने एक महिने व्रत पुजामा ३१ अध्यायको स्कन्ध पुराणको केदारखन्डको माघ महात्मे पुराण दिनहुँ वाचन गरिन्छ । कथाका श्रोताहरु महिला पुरुष, बृद्ध, बृद्धा, जवान र बालक पनि हुने भएतापनि व्रत बस्ने र दिनहुँ पुजा गर्ने कर्ता चैं प्रायस् महिला नै हुने गरेका छन् । श्रीस्वस्थानी पर्व, यसको पौराणिक मान्यता, कथाबस्तु र यसको प्रभाबको बारेमा अचेल हरेक बर्ष चर्चा परि चर्चा बढ्ने गरेको छ । आलोचकहरुले यसलाई समाजमा महिला हिंसा र बिभेदकारी ग्रन्थको रुपमा व्याख्या गरेका छन् भने समर्थकहरुले यो पुस्तक तत्कालिन हिन्दु समाजको ऐनाको रुपमा बुझ्दै यसमा उल्लेख भएका सकारात्मक धार्मिक ब्याख्यालाई परिमार्जन सहित अनुसरण गर्न सके भत्किंदै गएको नेपाली सामाजिक र धार्मिक ब्यावस्थालाई जोड्न सकिने तर्क दिने गरेका छन् । श्रीस्वस्थानी ब्रतकथा र यसको सारलाई समाजशास्त्रीय दृस्ठिकोणले पनि हेर्नू उत्तिकै जरुरी छ ।
सनातन हिन्दु धार्मिक परम्परामा मानिंदै आएका अष्टमातृका अर्थात आठ नारी शक्ति मध्य श्रीस्वस्थानी देबि पनि एक हुन् भन्ने शास्त्रीय मान्यता रहि आएको छ । हिन्दु धर्मका १८ पुराण मध्य अधिकाँश पुराण एक पात्रले अर्को पात्रलाई सुनाएको श्रुतीको अभिलेख ग्रन्थ हुन् यसमध्यमा कृष्ण र अर्जुन बिचमा भएको बार्तालाप(श्रीमद् भागवत् गीताको रुपमा प्रख्यात छ भने भगवान् महादेबका पुत्रका रुपमा मानिंदै आएका कुमारजी र अगस्त्य मुनिका बिचको संवाद चैं श्रीस्वस्थानी ब्रतकथाको रुपमा व्याख्या गरिएको छ ।
श्रीस्वस्थानी ब्रतकथाका अनुसार, सत्यकालमा महादेब भगवन स्वामि पाम् भनेर पार्ब्तिले गरेको पुजा अनुस्ठान र अनेकौं दुखबाट मुक्ती पाउन बिधवा गोमा ब्राह्मणिले गरेको श्रीस्वस्थानी ब्रतकथा नै शृती परम्पराको रुपमा समाजमा स्थापित भएको हो । यध्यपी यसको कुनै ठोस प्रमाण भने कतै उल्लेख छैन ।
नेपाली समाजमा स्वास्थानि पुजा कहिलेदेखि गर्न थालियो भन्ने ठोस प्रमाण नभएकाले पनि यसको पौराणिकता र आधिकारिकताका बारेमा किटान गर्न गार्हो छ । स्वस्थानिमा यो कथा स्कन्ध पुराणबाट लिइएको भनिए पनि स्कन्ध पुराणमा यसको चर्चा गरिएको छ कि छैन भनेर कहिं कतै बिद्वानहरुले चर्चा गरेका छैनन् । नेपालमा मन्दिर बनाउने, धार्मिक संस्कृतिको बिकास र प्रबर्धन गर्ने संस्कृती र परम्पराको थालनी मल्ल शासनकालमा सुरु भएको र यो समय नै नेपालको धार्मिक र बास्तुकलाको स्वर्ण काल भएकाले त्यही समयदेखि नै स्वस्थानी पुजा गर्न थालियो कि भन्ने मेरो निजि तर्क हो । यो यस अर्थमा भन्न सक्छु कि स्वस्थानी ब्रतकथाको पुस्तक सबै भन्दा पहिले संस्कृतमा लेखिएको थियो र मल्ल कालमा मुख्य भाषा पनि संस्कृत नै थियो । र, उनिहरुको राजधानी काठमाडौं थियो । स्वस्थानिको कथा पनि काठमाडौं खाल्डो र हालको साँखु बजार र त्यहाँको शाली नदि वरिपरि नै घुमेको छ । अहिले पनि विशेषतस् काठमाडौंको नेवार परिवारमा स्वस्थानी पुजा गरिन्छ । उपत्यका र उपत्यका बाहेक देशका अन्य भागमा हिन्दु ब्राह्मण, क्षेत्री, ठकुरी, दसनामी र मधेसी समाजमा श्रीस्वस्थानी पुजा गरिने प्रचलन छ । आधुनिकताका साथ साथै यसको व्रत पुजा परम्परामा केही कमि आएको भएता पनि हरेक गाउँमा बर्से्नि पालै पालो घरहरुमा स्वस्थानी व्रत लिने र गाउँ भरका मानिसहरु जम्मा भएर ब्रतकथा सुन्ने सुनाउने परम्परा यधपी छँदैछ ।
श्रीस्वस्थानी ब्रतकथामा उल्लेख भएका शक्ति पिठमा अहिले पनि धुमधाम पुजा आजा हुने हुनाले यो पुस्तक एक दुई सय बर्स अगाडी लेखिएको सामान्य पुस्तक मात्र हो कि भन्ने अनुमान गलत हुन्छ । कथामा उल्लेख भए अनुसार आफ्ना बाबुले आफ्ना पतिलाई गरेको अपमान सहन नसकी आत्मदाह गरेकी सति देबिको शरीर बोकेर हिंड्ने क्रममा उनको अंग जहाँ जहाँ खस्यो त्यहाँ देबिको शक्तीपिठ उत्पन्न भयो । त्यहाँ उल्लेखित शक्तिपिठहरुमा सदियौं पुराना मन्दिर छन् र अहिले पनि त्यहाँ आस्थाबानहरुले पुजा अर्चना गर्दछन् । काठमाडौंको गुह्यस्वेरी, स्याङ्जाको छाङ्छाङ्दी यी मध्यका केही शक्ति पिठ हुन् । नेपाल बाहेक भारत बंगलादेश र श्रीलंकामा पनि स्वस्थानिमा उल्लेख भएका शक्तिपिठमा धुमधामले पुजा आजा हुने गरेको जानकारहरु बताउँछन् ।
सबैभन्दा पहिलो स्वस्थानी व्रत कथाको पुस्तक बि.सं. १६३० मा संस्कृतमा लेखिएको पाईन्छ । संस्कृतबाट बि.सं. १६५९ मा नेवारीमा अनुवाद गरिएको ब्रतकथालाई काठमाडौं उपत्यकाका नेवारी समाजमा घर घरमा यसको बाचन र श्रवण गरिन्थ्यो । पृथ्वीनारायण शाहले उपत्यका विजय गरिसके पछि उपत्यकाको धर्म तथा संस्कृतीहरुलाई अंगाल्दै जाने क्रममा स्वस्थानी ब्रतकथालाई बि.सं. १८६६ मा नेपालीमा अनुवाद गर्न लगाइ अन्यलाई पनि स्वस्थानीको ब्रत बस्न तथा पुस्तक पढ्न लगाएका भनी ईतिहासकार एबम संस्कृतीबिद्हरुले उल्लेख गरेका छन् । यसरी काठमाडौंमा गैर नेवारहरुको आवागमन पश्चात् नेवारी बाहेकका समुदायमा पनि स्वस्थानी ब्रत बस्ने परम्पराको थालनी भयो भन्ने मानिएको छ । अचेल नेवार भन्दा पनि गैर नेवारहरु बढि स्वस्थानीको ब्रत बसेको पाउँछौ ।
स्वस्थानि ब्रतको सकारात्मक पक्ष के हो भने कमसेकम एक महिना सम्म ब्रतालुको घरमा शुद्द शाकाहारी भोजन पाक्छ । यो समयमा घरमा माँश र मध्यपान निषेध गरिएको छ । महिना दिनभरी पुजा आराधनामा तल्लिन हुनाले मनमा कुविचार पनि आउँदैन । मन शान्त हुन्छ । व्रत बस्ने महिला एकमहिना भए पनि घरका अन्य कामबाट केही मात्रामा छुटकारा पाउँछिन् । व्रत समाप्तिका दिन साँगे पुजाको दिन गाउँभरिका जम्मा भएर भोज भतेर गरिने हुँदा एक प्रकारले पर्बको माहोल बन्छ र सामाजिक एकता कायम गर्न मद्दत पुराउँछ । स्वस्थानिका शक्तिपिठहरुमा पुजा र दर्शन गर्न आउने आन्तरिक पर्यटकले त्यो ठाउँको बिकास गर्न थोरै भएपनी योगदान दिन सक्छ । आधुनिकताको नाममा भ्रस्टिकरण हुँदै गैरहेको समाजमा स्वस्थानी कथाले थोरै भए पनि भक्तिभाब जगाउने र धार्मिक आस्था बढाउन सक्छ । स्वास्स्वस्थानिका शक्तिपिठहरुमा पुजा र दर्शन गर्न आउने आन्तरिक पर्यटकले त्यो ठाउँको बिकास गर्न थोरै भएपनी योगदान दिन सक्छ । आधुनिकताको नाममा भ्रस्टिकरण हुँदै गैरहेको समाजमा स्वस्थानी कथाले थोरै भए पनि भक्तिभाब जगाउने र धार्मिक आस्था बढाउन सक्छ । स्वास्थानीका स्लोक पढेको सुनेको आधारमा धेरैलाई साहित्यतर्फ रुचि बढ्न सक्छ । संस्कृतका मिठा स्लोकले पनि धेरैलाई संस्कृतको अध्यायनमा रुचि बढाउन सक्छ ।
नारिलाई दोश्रो दर्जा दिइएको र नारी शक्तिलाई घर भित्रै दबाएर राखिएको रुढिबादी संस्कारी समाजमा स्वस्थानी ब्रतकथाले नारी शक्तिको बारेमा थोरै भए पनि व्याख्या गरेर चेतना फैलाउन सक्छ । कथाकी मुल पात्र गोमा ब्राह्मणी सुरुमा अत्यन्तै निरीह नारी पात्र भए पनि कालान्तरमा उनलाई राजमाताको रुपमा व्याख्या गरिएको छ भने स्वस्थानी देबिलाई अत्यन्तै शक्तिशाली देखाईएको छ । यौनको चर्चा बर्जित जस्तै नेपाली परम्पराबादी समाजमा यो ब्रतकथामा सबिस्तार चर्चा गरिएका विभिन्न यौन कथाले यौन सम्बन्धी थोरै भए पनि ज्ञान दिन सक्ने र यौन पढ्नै सुन्नै नहुने विषय होइन बरु समुहमै बसेर सुन्न पढ्न र छलफल गर्न सकिने र गर्नु पर्ने विषय हो भनेर जानकारी दिएको छ । यश धार्मिक ग्रन्थको मुल सार भनेको अधर्म माथी धर्मको बिजय र धार्मिक राज्यको स्थापना नै हो ।
पुस्तकका कथालाई पुर्ण काल्पनिक नै मान्ने हो भने पनि अन्तमा यसले धार्मिक समाज निर्माण गर्न सत्कर्ममा लाग्नमा र सत्यको मार्गमा हिड्न युबाहरुलाई प्रेरित गरेको तथ्य चाहिँ भुल्नु हुन्न । त्यसो त समाजशास्त्रीहरुले यो पुस्तकको आलोचना पनि उत्तिकै गरेका छन् । पुस्तक धार्मिक ग्रन्थ हो या धर्मको नाममा लेखिएको एकदम काल्पनिक ग्रन्थ हो भन्नेमा बिबाद पनि उत्तिकै छ । ग्रन्थका कथामा नारिहरु माथी अत्याचारका घटना अत्याधिक भएका छन् । धर्म बचाउने कार्य केबल महिलाको हो भन्ने खालको भ्रमपुर्ण कथाले पुरुष स्वतन्त्र र महिला धार्मिक कानुनमा बाँधिनु पर्ने एक प्रकारको सन्देश दिएको उनिहरुको मत छ । पुस्तकमा महिलाले मात्र व्रत बस्नु भनेर किटान नगरेको भए पनि यो व्रत अशिकाँश महिला नै बस्ने गर्दछन् । ब्रतमा फल नैबेध्य केबल घरका पुरुष सदस्यलाई मात्र खुवाउनु भनिएको छ यधपी यो नियम भने समाजमा पालन भएको पाईदैन । सात बर्षिया बालिकाको सत्तरी बर्षे बुढासंग बिहा गरेको प्रसंगलाई आलोचकले सबै भन्दा प्रमुख मुद्दा बनाएका छन् तर यो घटना त्यो समाजको प्रतिबिम्ब पनि हो जस्तो लाग्छ । हाम्रै हजुरआमाको पालासम्म पनि बहु बिबाह र बाल बिबाह अनि अमेल बिबाह प्रचलित भएको अवस्थामा यो ग्रन्थका लेखकले त्यो समाजको वास्तविक चरित्र उतारेका हुन् कि भन्न सकिन्छ । त्यसैले एउटा घटना प्रसंगलाई लिएर समग्र ग्रन्थार कथाको मर्म माथी नै प्रहार गर्नु न्याय संगत नहुने तर्क गर्नेहरु पनि छन् । ग्रन्थमा परस्त्री गमन गरिएका थुप्रै प्रसंग छन् तथापी त्यसको गलत परिणामको बारेमा पनि ग्रन्थले बोलेको छ ।
अन्तमा, स्वस्थानी ग्रन्थले दिएको सकारत्मक पक्षलाई आत्मसात गर्न सके धार्मिक प्रबृत्तिमा मन जाने र एउटा नैतिकवान ब्यक्तिव समाजले पाउने कुरा कल्पना गर्न सकिन्छ । नकारात्मक कुरालाई त्यो समाजको त्यो समयको चित्रणको रुपमा लिंदा राम्रो हुन्छ । व्रत बस्दा स्वस्थ्य राम्रो हुनेले बस्ने हो । भोको बसेर गर्ने व्रत होइन यो केबल शुदासुद्दिमा श्यान दिए पुग्छ भनिएको छ त्यसैले साकाहारी भोजन र आत्मा, मन र शरीर शुद्द गर्नु आफ्नो र समाजको लागि हितकर नै हुन्छ । स्वस्थानी पुजा गर्नै पर्ने अनिबार्य कहिं कतै नभएको हुनाले यसलाई आलोचनात्मक बनाईरहनु भन्दा पनि केबल धार्मिक आस्था र परम्पराको निरन्तरताको रुपमा लिंदा राम्रो हुन्छ । पुजा आजामा दान दक्षिणा दिंदा दिने र लिने दुबै खुसी र सन्तुष्ट हुने हुँदा यो पनि समाजसेवाको एउटा पाटो बन्न सक्तछ ।
बाँकी, स्वास्थानी व्रत लिने नलिने, कथा सुन्ने नसुन्ने, आलोचना या समर्थन गर्ने पाठकको मर्जी, किनकी हिन्दु धर्ममा हरेक धार्मिक अनुष्ठान, परम्परा र नियम मान्न नमान्न हरेक ब्यक्ति स्वतन्त्र छन् । ०००००००

Share.

Leave A Reply