‘ए’ डिभिजन लिग फुटबलको उपाधि छिनोफानो त्रिभुवन आर्मी र मच्छिन्द्र क्लबबीचको फागुन ३ गते हुने जारी लिगको अन्तिम खेलबाट मात्र टुंगो लाग्ने

0

विर्तामोड, २८ माघ ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि छिनोफानो त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लबबीच फागुन ३ गते शनिबार हुने जारी लिगको अन्तिम खेलबाटै टुंगो लाग्ने भएको छ ।
लिगको १२औं खेलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी)लाई ३–० ले हराउँदै आर्मी शीर्ष स्थानमा पुग्न सफल भएको हो ।
आज एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा भएको खेलमा आर्मीलाई जिताउन कप्तान भरत खवास, विकास तामाङ र टेकबहादुर बुढाथोकीले एक–एक गोल गरेका छन् । योसँगै भरतले ‘ए’ डिभिजन लिगमा व्यक्तिगत ५० गोल पूरा गरेका छन् ।


जितसँगै अन्तिम खेल खेल्नुअघि पहिलोपटक उपाधि जित नजिक पुगेको आर्मीको २९ अंक भएको छ । दोस्रो स्थानको मच्छिन्द्र क्लबको २८ अंक छ ।
तेस्रो स्थानको साविक विजेता मनाङ–मस्र्याङ्दी क्लबको २५ अंक भएको छ । मनाङले आजको खेलमा नेपाल पुलिस क्लबमाथि २–० को जित हासिल गरेको हो । मनाङका लागि विमल राना र अञ्जन विष्टले एक–एक गोल गरे । पुलिसका विशाल बस्नेतले खेलको अन्त्यतिर रातो कार्ड खाए ।
थ्रीस्टार क्लब भने २३ अंकसहित चौथो स्थानमा छ । थ्रीस्टारले आज भएको खेलमा न्यूरोड टिम (एनआरटी)लाई १–० ले हराएको हो । थ्रीस्टारका लागि दीपक घलेले ७७औं मिनेटमा निर्णायक गोल गरे ।
आफ्नो अन्तिम खेलमा मनाङले जावलाखेल युथ क्लबसित र थ्रीस्टारले च्यासल युथ क्लबसित फागुन २ गते खेल्नेछन् ।
यदि, आर्मीले मच्छिन्द्रलाई हरायो भने र मनाङले पनि फराकिलो जित निकाले मात्र मनाङ उपविजेता बन्न सक्नेछ । यदि, मनाङ पराजित हुँदा थ्रीस्टार विजयी भए तेस्रो स्थानमा थ्रीस्टार रहने छ । १४ टोली सहभागी लिगबाट सरस्वती युथ क्लब ‘रेलिगेसन’मा परिसकेको छ ।
भोलि १२औं चरणको अन्तिम खेलमा दिउँसो १ बजे हिमालयन शेर्पा क्लबले एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लबसित खेल्नेछ । ००००००

Share.

Leave A Reply