राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पटवालको औपचारिक बिदाई, टमाटालाई जिम्मेवारी

0

विर्तामोड, २ फागुन ।


नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक उमेश पटवाललाई औपचारिक बिदाई गर्दै कार्यवहाक जिम्मेवारी जगत टमाटालाई दिएको छ ।
त्रिदेशीय सिरिज लगत्तै राजीनामाको घोषणा गरेका पटवाललाई क्यानले औपचारिक बिदाई गरेको हो । पटवाल आज भारत फर्कने कार्यक्रम रहेको छ । पटवालको बिदाईसंगै क्यानले टमाटालाई राष्ट्रिय क्रिकेट टिमको कार्यवहाक प्रशिक्षकको जिम्मेवारी दिएको हो ।
क्यान स्रोतका अनुसार थाईल्याण्डमा हुने एसीसी ईस्टर्न रिजन टी–ट्वान्टी कप हेर्ने गरी टमाटालाई जिम्मेवारी दिइएको हो ।प्रतियोगिताको तयारीका लागि केही दिनमै क्याम्प चलाउनु पर्ने भएकाले टमाटालाई कामचलाउ जिम्मेवारी दिइएको हो ।
टमाटाले फेब्रुअरीको २९ बाट थाईल्याण्डमा हुने प्रतियोगितामा नेपाली टिमको नेतृत्व गर्नेछन् । ईस्टर्न रिजन प्रतियोगिता मार्च ६ सम्म चल्नेछ । प्रतियोगिता खेल्ने प्रारम्भिक टोलीको घोषणा क्यानले यसअघि नै गरिसकेको छ ।
क्रिकेट टिमका मुख्य प्रशिक्षक पटवालले तलबको कारण देखाउँदै पद त्यागको निर्णय गरेका थिए । उनले सम्झौता सकिन झण्डै ४ महिना अघि पदबाट राजीनामा दिएका थिए ।
क्यान निलम्बनको अवस्थामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले पटवाललाई एक बर्षका लागि नेपाली टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।
नेपाल सम्मिलित ईस्टर्न रिजन टी–ट्वान्टी कपमा नेपाल सहित सिंगापुर, हङकङ, मलेसिया, भुटान, चीन र म्यानमार खेल्दैछन् ।
नेपाल समूह एमा छ । नेपाल रहेको समूहमा थाईल्याण्ड, मलेसिया र म्यानमार छन् । नेपालले फेब्रुअरी २९ मा चीन, मार्च १ मा थाईल्याण्ड र मार्च ३ मा मलेसियासंग खेल्नेछ । नेपालको प्रारम्भिक टोलीमा शेर मल्लले नयाँ अनुहारको रुपमा स्थान बनाएका छन् । ००००००

Share.

Leave A Reply