देशमा विकासले चाहे जस्तो गति लिन नसके पनि क्रमशः आर्थिक समृद्धितर्फ बढिरहेको छ : अध्यक्ष प्रचण्ड

0

विर्तामोड, २ माघ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनका लागि नेपालका सबै प्रमुख पार्टीले एक समय हतियार उठाएको बताउनु भएको छ । प्रथम शहीद लखन थापाको स्मृति दिवसमा आज गोरखामा आयोजित कार्यक्रममा उहाँले नेपाली कांग्रेसले २००७ सालमा, कम्युनिस्टहरुले झापा विद्रोहमा हतियार उठाएको भन्दै २०५२ सालमा आफूहरुले सुरु गरेको सशस्त्र युद्ध त्यसकै पछिल्लो कडी भएको टिप्पणी गर्नुभयो ।
‘एउटा विचित्रको कुरा के छ भने नेपालमा जति पनि प्रमुख पार्टीहरु छन् उनीहरुले एउटा कालखण्डमा हतियार उठाएकै छन्, नेपाली कांग्रेसले २००७ सालमा हतियार उठाएकै हो, २०२८ सालमा कोअर्डिनेशन केन्द्रको नाममा झापामा क्रान्तिकारी युवाहरुले सशस्त्र बिद्रोह गरेकै हो’ प्रचण्डले भन्नुभयो ‘त्यही क्रमको पछिल्लो कडीको रुपमा २०५२ सालमा माओवादीको जनयुद्ध उद्घोष भयो, त्यही बिद्रोहको परिणाम आज हामी संघिय लोकतान्त्रिक गणतन्त्रमा छौं ।’
देशमा विकासले चाहे जस्तो गति लिन नसके पनि क्रमशः आर्थिक समृद्धितर्फ अघि बढिरहेको उहाँले बताउनुभयो ।
‘२००७ सालमा राणा शासन गएर लोकतन्त्र आयो भन्या जस्तो होइन, हामी एकात्मक सासनबाट संघात्मक शासनमा अघि बढेका छौं, पुरानो बाटो भन्दा नयाँ बाटो हिँड्दा केही असहज महसुस हुनु स्वाभाविक हो,’ उहाँले भन्नुभयो ।
प्रचण्डले प्रथम शहीद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न पहल गर्ने बताउनु भएको छ । ‘लखन थापाका सहयोगी जय सिंह चुमीलाई पनि शहिद घोषणा गराउन सकिन्छ, मेरो तर्फबाट यो पहल हुन्छ’ उहाँले भन्नुभयो । फागुन २ गतेलाई प्रथम शहिद स्मृति दिवस घोषणा गर्न सकिने उहाँले आश्वासन दिनुभयो ।
राणा शासनको दमनविरुद्ध बिद्रोह गरेको भन्दै विं.स. १९३३ साल फागुन २ गते लखन थापा, जय सिंह चुमीसहित पाँच जनालाई जंगबहादुर राणाको आदेशमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो ।
लखन गाउँपालिका–७ बुंकोटको काउले भङ्गारमा स्थानीयको आयोजनामा लखन थापा मगर तथा उनका सहयोगी जय सिंह चुमी राना मगरको १४३ औं स्मृति दिवस मनाइएको छ । ०००००

Share.

Leave A Reply