को बन्ला आज ए डिभिजन लिग फुटबलको विजेता ?

0

विर्तामोड, ३ फागुन ।

सहिद स्मारक ए डिभिजन लिग फुटबलको अन्तिम खेलमा आज त्रिभुवन आर्मी र मछिन्द्र क्लब भिड्दैछन् । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल दिउँसो साढे १ बजे सुरु हुनेछ । आज हुने अन्तिम खेलले लिग विजेता टोलीको टुङ्गो लगाउनेछ ।
सहिद स्मारक ए डिभिजन लिगले आज नयाँ क्लबलाई च्याम्पियनको रुपमा पाउन लागेको हो । दुवै टिमले अहिलेसम्म घरेलु लिगको उपाधि जित्न सकेका छैनन् ।
स्थिर प्रर्दशन र टिम गेमको राम्रो नमुना प्रस्तुत गरेको आर्मी लयमा देखिन्छ । राष्ट्रिय टिमका अधिकांश स्टार खेलाडी अनुबन्धन गरेको मछिन्द्रसंग व्यक्तिगत रुपमा उत्कृष्ट खेल्न सक्ने खेलाडीको भिड छ ।
दुवै टिम लिगको नयाँ च्याम्पियन बन्न सक्दो कोशिश गर्नेछन् । दशरथ रंगशालाले आज दिउँसो सहिद स्मारक ए डिभिजन लिगको ईतिहासमा नयाँ च्याम्पियन क्लब पाउनेछ ।
लिग लिडर आर्मी र दोस्रो स्थानको मछिन्द्र अन्तिम खेल जित्दै उपाधि जित्ने दाउमा हुनेछन् । दुवै टोलीका प्रशिक्षक र कप्तान आफ्नो टोलीले उपाधि जित्नेमा ढुक्क समेत छन् ।
‘पक्कै पनि लिगमा तयारी च्याम्पियन बन्ने थियो । जित्नकै लागि खेल्नेछौँ’, मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले आर्मीसँगको खेलअघि भन्नुभयो, ’आर्मीविरुद्ध थोरै मौका पाउने छौँ । त्यसलाई सदुपयोग गर्नुपर्छ ।’
लिगको अन्तिम खेल बाँकी रहदा मछिन्द्र आर्मी भन्दा एक अंकले पछि रहेको छ । त्यसैले उपाधि जित्न अन्तिम खेलमा मछिन्द्रलाई जित्नै पर्ने दबाब रहेको छ । बराबर र हारले मछिन्द्र च्याम्पियन बन्ने छैन । आर्मीको २९ अंक रहँदा मछिन्द्रको २८ अंक रहेको छ ।
‘आर्मीसँग जित्नै पर्ने दबाब छ । यसको बिकल्प छैन । आर्मीलाई बराबर भए पुग्छ’, प्रशिक्षक कटुवालले भन्नुभयो, ‘आर्मी राम्रो छ । गोल गर्न गाह्रो छ । त्यसको बाबजुत च्याम्पियनको लागि खेल्छौं । आर्मीलाई बराबरीको अवसर छ । त्यसको फाइदा लिन्छौं ।’
यस सिजनको उपाधि जित्न साविक विजेता मनाङ मस्र्याङ्दीबाट कप्तान विराज महर्जनसहित ७ खेलाडी अनुबन्ध गरेको मछिन्द्रले लिगमा मात्र एक हार व्यहोरेको छ । तर, गत सिजनको खराब प्रदर्शनको कारण मछिन्द्रले एक अंक सुरुवातबाटै गुमाएको छ । त्यही गुमाएको अंकले मछिन्द्र आर्मीसंग पछि रहेको हो । यस्तै मछिन्द्रले लिगको अन्तिम खेलअघि राष्ट्रिय टोलीका स्ट्राइकर विमल घर्ती मगरलाई पनि अनुबन्ध गरेको छ । आर्मीविरुद्धको अन्तिम खेलमा मछिन्द्रले विमललाई मैदान उतार्ने छ ।
मोफसलको प्रतियोगितामा दर्जन बढी उपाधि जितेको आर्मीले लिगको उपाधि जित्न सकेको छैन । त्यसैले मछिन्द्रविरुद्धको अन्तिम खेलमा आर्मी इतिहास रच्न चाहन्छ । जसका लागि आर्मी आतुर देखिएको छ ।
‘इतिहास रच्ने दाउमा छौँ । मछिन्द्र राम्रो टिम हो । तर, हाम्रो टिम वर्क छ । हाम्रो बलियो पक्ष पावर खेल हो’, मछिन्द्रसँगको खेलअघि आर्मीका प्रशिक्षक नविन न्यौपानेले भन्नुभयो, ‘अहिलेसम्म लिग जितेका छैनौँ । यो पटक अवसर छ । अट्याकिङ खेल खेल्छौं । बराबरीका लागि हैन जित्नकै लागि खेल्छौं ।’
लिगको १२ खेलमा आर्मीले ९ जित निकालेको छ । दुई खेलमा बराबरी र १ हार व्यहोरेको छ । तर, आर्मीले सुरुवातमा भन्दा पछिल्लो समय लयात्मक खेल खेलिरहेको छ ।
यस्तै मछिन्द्रविरुद्ध आर्मीलाई दबाब कम हुनेछ । मछिन्द्रविरुद्ध आर्मी जित अथवा कम्तिमा बराबरी गर्ने योजनामा हुनेछ । ‘दबाब लिएर खेल्यौं भने हार्ने सम्भावना हुन्छ । त्यसैले दबाब रहित खेल्नेछौं । एउटा मौका आएको छ, सदुपयोग गर्न चाहन्छांै’, प्रशिक्षक न्यौपानेले भन्नुभयो । ००००००

Share.

Leave A Reply