मछिन्द्र फुटबल क्लबद्वारा पहिलो पटक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि कब्जा

0

विर्तामोड, ३ फागुन ।

मछिन्द्र फुटबल क्लबले पहिलो पटक सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १ – ० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले लिगमा ऐतिहासिक उपाधि जितेको हो ।
विक्रम सम्वत् २०६० सालमा पहिलो पटक ‘ए’ डिभिजन लिगमा उक्लिएको मछिन्द्रले १६ वर्षपछि लिगको उपाधि जितेको हो । फाइनल सरह रहेको अन्तिम खेलमा मछिन्द्रको जितमा आत्मघाती गोल निर्णायक बनेको हो । निकै रोमान्चक बनेको खेलको ३३ औं मिनेटमा आर्मीका विकास तामाङले आत्मघाती गोल गरेका थिए । रञ्जित धिमालको फ्रिकिक हेडबाट क्लियर गर्ने क्रममा आर्मीका विकासले आफ्नै पोस्टमा गोल गरेका थिए ।
त्यहीँ विकासको आत्मघाती गोलले आर्मी भने पहिलो पटक लिगको उपाधि जित्नबाट बन्चित बनेको हो । खेलमा मछिन्द्रका आन्द्रेस निया म्यान अफ दि म्याच चुनिए । जितसँगै मछिन्द्रले १३ खेलमा ३१ अंक जोड्दै उपाधि जितेको हो ।
गत सिजन खराब प्रदर्शनको कारण १ अंक सुरुवातबाटै घटेको मछिन्द्रले १३ खेलमा १० जित, २ बराबरी र १ हारको नतिजा निकाल्यो । उपाधि जित्ने क्रममा मछिन्द्रले आर्मीलाई २ अंकले पछि पारेको छ ।
अन्तिम खेलमा चुकेको आर्मीले २९ अंक जोड्यो । आर्मीले ९ जित, २ बराबरी र २ हारको सामना गर्यो । यस्तै लिगमा २८ अंक जोडेको मनाङ मस्र्याङ्दी क्लब तेस्रो, २६ अंक जोडेको थ्री स्टार चौंथो र २० अंक जोडेको नेपाल पुलिस क्लब पाँचौं स्थानमा रहेका छन् । १९ अंक जोडेर जावलाखेल युथ क्लब छैटौं स्थानमा रहन सफल भयो । अब शीर्ष ६ टोलीले आगामी बैशाखमा हुने राष्ट्रिय लिग खेल्नेछन् । यस सिजन ४ अंक जोडेको सरस्वती युथ क्लब ‘बी’ डिभिजनमा घटुवा भएको छ । ००००००

Share.

Leave A Reply