बिर्तामोड नगरपालिकाद्वारा धिमाल महिलालाई जातीय पहिचान झल्काउने पहिरन ‘दाबोना’ अर्थात् पेटानी बनाउन प्रोत्साहन

0

विर्तामोड, ५ फागुन ।

धिमाल समुदायका मौलिक गरगहना र जातीय पोशाकको संरक्षण गर्न बिर्तामोड नगरपालिकाले धिमाल महिलालाई अहिले जातीय पहिचान झल्काउने पहिरन ‘दाबोना’ अर्थात् पेटानी बनाउन प्रोत्साहन गरिरहेको छ । जातीय पहिरन संरक्षण हुने र महिलाले त्यसलाई व्यावसायिकता प्रदान गरे आत्मनिर्भर बन्ने नगरपालिकाका प्रवक्ता समेत रहनुभएका वडा नम्बर १ का अध्यक्ष अग्निप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “धिमाल समुदाय आफैँमा पछाडि छ, त्यसमाथि संस्कार संस्कृतिले सुसज्जित भए पनि आफ्नै वेषभूषाको संरक्षण गर्न नसक्दा उनीहरुलाई सीप पनि सिकाउने र संस्कार संस्कृतिको संरक्षण गर्दै आत्मनिर्भर बनाउन नारी सङ्कल्प नामक संस्थासँग सहकार्य गर्दै धिमाल महिलालाई पेटानी बनाउने तालीम प्रदान गरिरहेका छौँ ।”
१८ जना धिमाल समुदायका महिलाले सोे तालीम लिइरहेको नारी संकल्प संस्थाका अध्यक्ष तुलसा खरेलले जानकारी दिनुभयो । ‘दाबोना’ अर्थात पेटानी धिमाल समुदायका महिलाले लगाउने गर्छन् । तर, आधुनिकताका कारण अहिले महिलाले पेटानी लगाउन छाड्दै गएका छन् । अझ युवा पुस्तामा आफ्नै जातीय पहिरनप्रति आकर्षण छैन । पेटानी बनाउन सिकाउँदै आउनुभएकी मोरङ पथरीकी सीता धिमालले भन्नुभयो, “पेटानी बनाउने मात्रै सीप सिक्ने हो भने धिमाल समुदायका महिला कोही पनि बेरोजगार हुनु पर्दैन ।”
पेटानी गुन्यूजस्तै हो तर, पेटानी करिब पाँच÷छ हात मात्रको हुन्छ । पेटानी लगाउँदा महिला केवल छाती मात्रै ढाक्छन् । पेटानी लगाउने महिलाले चोलो लगाउँदैनन् । पेटानी लगाउने महिलाले छाती मात्रै छोप्छन् र पेटानी घुँडा मुन्तिरसम्म मात्र लगाउँछन् । पेटानी प्रायः कालो रङको हुन्छ । यो घरमै महिलाले धागो कातेर तानमा बनाउने गर्छन् । पेटानी बनाउने हाम्रो पुख्र्यौली पेशा हो उहाँले भन्नुभयो, “हाम्रो समुदायमा विवाह व्रतबन्धजस्ता कार्यमा पेटानी अनिवार्य छ । तर, अहिलेका युवा पिँढीले पेटानी लगाउँदैनन् ।”
सीप सिकाउन थालेपछि नगरका धिमाल महिला अहिले सीप सिक्न उत्साहित देखिएका छन् । दुई महिना अघिदेखि पेटानी बनाउने सीप सिक्दै आउनुभएकी बिर्तामोड–१ निवासी कोपिला धिमालले भन्नुभयो, “हामी लजाएर रहेछ, एउटा मात्रै पेटानी बनाएर बिक्री गर्दा दुई हजार ५०० देखि तीन हजार रुपैयाँसम्ममा बिक्री हुने गर्दाे रहेछ । दुई दिनमै तयार गर्न सकिने पेटानी महिनामा १२ देखि १५ वटा मात्रै बनाएर बिक्री गर्ने हो भने ३० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्न सकिने रहेछ ।”
तालीममा सहभागी घिना धिमाल उमेरले ५० को हाराहारीमा हुनुहुन्छ तर, उहाँमा सीप सिक्ने इच्छा छ । उहाँले भन्नुभयो, “बेलैमा सीप सिकेर यो व्यवसाय शुरु गरेको भए अहिलेसम्ममा मनग्य आम्दानी गरिसक्ने थिएँ ।” बिर्तामोड नगरपालिकाले धिमाल समुदायका महिलाको जीवनस्तर सुधार्दै स्वावलम्बी बनाउन पेटानी बनाउने सीप सिकाए पनि दमक नगरपालिकाले पनि धिमाल समुदायलाई परापूर्वककालदेखि बसोवास गर्दै आएको नागरिकका रुपमा ‘प्रथम नागरिक’ घोषणा गर्दै धिमाल समुदायलाई सम्मान गरेको छ ।
धिमाल समुदायको जनसङ्ख्या दमक नगरपालिकामा करिब १५ हजारको हाराहारीमा रहेको बताइएको छ । जातीय बसोबास सूची बनाउने काम गर्न लागिएको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले जानकारी दिनुभयोे । ०००००००

Share.

Leave A Reply