चारपानेको श्रीकृष्ण प्रणामी मन्दिरमा स्वर्ण महोत्सवको तयारी, फागुन २१ गतेदेखि कार्यक्रम हुने

0

विर्तामोड, ११ फागुन ।

स्थापनाको ५० वर्ष प्रवेश गरेको सुखद अवसरमा झापाको विर्तामोड–२ चारपानेस्थित श्रीकृष्ण प्रणामी मन्दिरले स्वर्ण महोत्सवको तयारी गरेको छ ।
उक्त मन्दिरले भ्रमण वर्ष २०२० लाईसमेत प्रवद्र्धन गर्ने गरी स्वर्ण महोत्सवको अवसरमा साताव्यापी विविध धार्मिक तथा सामाजिक सेवामूलक कार्यक्रम गर्ने योजना बनाएको छ ।
मन्दिरले हिजो पत्रकार सम्मेलन गरी स्वर्ण महोत्सव एवम् साताव्यापी श्री १०८ सागर पाठ पारायण श्रीमद् देवी भागवत ज्ञान महायज्ञ (श्रीकृष्ण कथा) बारे जानकारी गराएको छ ।
स्वर्ण महोत्सव समारोह मूल आयोजक समितिद्वारा मन्दिर परिसरमा आयोजित सम्मेलनमा यही फागुन २१ गतेदेखि २७ गतेसम्म आयोजना गरिने कार्यक्रमहरुका बारे जानकारी गराइएको हो ।


समितिका अध्यक्ष युवा सन्त डा. जगतनन्दन शास्त्रीजी महाराजको अध्यक्षतामा आयोजित सम्मेलनमा समितिका महासचिव शारदाप्रसाद थपलियाले आयोजना गरिने कार्यक्रमहरुका बारे जानकारी दिनु भएको थियो ।
विवरण अनुसार २१ गते विहान स्वर्ण महोत्सव शुभारम्भ हुनेछ भने विहान ९ बजे कलशयात्रापछि ११ बजेदेखि श्री १०८ तारतम सागर पाठ पारायण शुभारम्भ हुनेछ । १२ बजे स्वर्ण महोत्सव स्तम्भ समुद्घाटन तथा बाबा श्री गोपीदास स्मृतिसभा एवम् कलश अनावरणको कार्यक्रम रहेको छ । दिउँसो २ बजे मञ्चको कार्यक्रम समुद्घाटन हुनेछ भने प्रमुख अतिथिको रुपमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई निमन्त्रणा गरिएको महासचिव थपलियाले जानकारी दिनुभयो ।
महोत्सव सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको र ती समितिहरुले आफ्नो जिम्मेवारीलाई अघि बढाइसकेको महासचिव थपलियाले जानकारी दिनुभयो । दाताहरुबाट आर्थिक संकलन गरी सम्पन्न गर्न लागिएको उक्त बृहद धार्मिक अनुष्ठान सम्पन्न गर्न ५० लाखदेखि ६० लाख रुपैयाँ खर्च अनुमान गरिएको आयोजकले जनाएको छ । सो कार्यका लागि संघीय, प्रदेश र स्थानीय सरकारले पनि सहयोग गर्ने बचन दिएको थपलियाले जानकारी दिनुभयो ।
महोत्सव सम्पन्न गर्न जिल्लाका श्री कृष्ण प्रणामी अन्तर्गतका मन्दिर तथा समितिहरु, श्रीकृष्ण प्रणामी युवा परिषद, श्रीकृष्ण सेवा परिषद लगायतका समितिहरुले सक्रिय सहभागिता जनाइरहेको पनि बताइएको छ । ०००००

Share.

Leave A Reply