अध्यक्ष ‘प्रचण्ड’को काँधमा मिथिला क्षेत्रको डोला

0

विर्तामोड, ११ फागुन ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मैथिल बाहुल्य क्षेत्र धनुषामा हिन्दीमा भाषण गर्दै मिथिला क्षेत्रको डोलालाई काँधमा उठाउनुभएको छ ।
मिथिला बिहारी नगरपालिकाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट भजन, किर्तनसहित डोला निकालिँदा प्रचण्डले केही दुरीसम्म डोलालाई बोक्नुभएको हो । त्यसअघि आयोजित औपचारिक कार्यक्रमलाई अध्यक्ष प्रचण्डले हिन्दी भाषामा सम्बोधन गर्नुभयो । उहाँले मिथिला मध्यपरिक्रमामा निकालिने डोला संस्कृतिको प्रशंसा गर्नुभयो ।
उहाँले नेपालीसहित भारतीय हिन्दु धर्माम्बलीले निकाल्ने मध्यपरिक्रमाको ठूलो महत्व रहेको बताउनुभयो । आफू प्रधानमन्त्री हुँदा मिथिला मध्यपरिक्रमालाई केही सहयोग गर्ने अवसर मिलेको बताउँदै उहाँले अब मिथिला बिहारी परिषद् गठनको पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले मिथिला बिहारी मन्दिरमा धर्मशाला निर्माणमा सहयोग गर्ने बचनसमेत दिनुभयो ।
कार्यक्रममा नेकपा नेता रघुवीर महासेठले कम्युनिस्टहरु धर्मको विरोधी नभएको बताउनुभयो । उहाँले कम्युनिस्ट सरकारले गाउँ–गाउँमा मठ मन्दिर, मस्जिद, गुम्बा निर्माण गर्दै सबै धर्मको सम्मान गरिरहेको बताउनुभयो । डोला निकाल्ने क्रममा प्रचण्ड आएको मनाङ्ग एयरको हेलिकप्टरबाट पुष्पवृष्टिसमेत गरिएको थियो । ००००००

Share.

Leave A Reply