नीति निर्माणमा युवाको हस्तक्षेपकारी भूमिका हुनुपर्छ : पूर्वमन्त्री बस्नेत

0

८ बुँदे घोषणा पत्र जारी गर्दै झापा जिल्ला युवा सम्मेलन सम्पन्न

विर्तामोड, ११ फागुन ।

युवामैत्री स्थानीय तह, अन्तर पार्टी युवा संजाल निर्माण लगायतका ८ बुँदे घोषणा पत्र जारी गर्दै झापा जिल्ला युवा सम्मेलन आज बिर्तामोडमा सकिएको छ ।
दुई दिने सम्मेलनले झापा सहित मुलुककै गम्भीर समस्याको रुपमा रहेको लागु औषध प्रयोग तथा ओसार—पसारमा बढ्दै गएको युवा संलग्नताले पर्न गएको सामाजिक, आर्थिक एवं मनोवैज्ञानिक असरलाई कम गर्न भइरहेका सबैखाले कार्यक्रम, अभियानहरुलाई अझ बढी प्रभावकारी रुपमा अघि बढाउन सरोकारवालाहरुको ध्यानकर्षण गराउने र कानून, नीति, नियमको प्रभावकारी कार्यान्वयनका लागि जोडदार माग गरेको छ ।
त्यस्तै दिगो विकास लक्ष्यलाई हासिल गर्नका लागि झापा जिल्लाका युवाले महत्वपूर्ण भुमिका निर्वाह गर्ने कुराप्रति ऐक्यवद्धता जनाउँदै कार्यान्वयनका लागि जिल्लालाई संन् २०३० अगावै दिगो विकास लक्ष्य हासिल गरेको जिल्ला बनाउन जिल्लास्थित सम्पूर्ण सरोकारावालहरुको ध्यानाकर्षण गराउने जनाइएको छ ।
झापालाई शून्य आयातयुक्त जिल्ला घोषणा गर्न सामूहिक अभियान संचालन गर्ने जनाइएको छ । नेपालको कुल जनसंख्याको करीब ४० दशमवल ३५ प्रतिशत जनसंख्या रहेको युवा शक्तिलाई जिल्लास्थित सबै निकाय, तहहरुमा युवाको पहिचान, पहुच र प्रतिनिधित्व स्थापित गर्दै योजना निर्माण, कार्यान्वयन तथा प्रतिफलको बाँडफाँडमा न्यायोचित र समानुपातिक हिस्सेदारीको सुनिश्चितताको लागि माग गरिएको छ ।
त्यस्तै विभिन्न किसिमका विभेद, असमानता र अन्धविश्वासको अन्त्य गर्दै सामाजिक—सांस्कृतिक रुपान्तरणका लागि व्यापक युवा सहभागितामा प्रभावकारी जिल्लास्तरीय अभियान संचालन गर्न सामुहिक प्रतिवद्धता जनाइएको जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समिति झापाको आयोजनामा सम्पन्न कार्यक्रमको दोस्रो दिन विभिन्न तीन विषयहरुमाथि बहस भएको थियो । पहिलो सत्रमा युवा स्वरोजगार र उद्यमशिलता विषयमा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगेलले कार्यपत्र प्रस्तुत गर्नुभयो । सहकारीकर्मी महेन्द्र गिरी र संविधास सभा सदस्य प्रेम गिरीले टिप्पणी गर्नुभयो ।
दोस्रो सत्रमा सामाजिक सांस्कृति रुपान्तरणमा युवा अग्ररता विषयमा युवा नेता नवराज शंकर, दलित अधिकारकर्मी उमेश विश्वकर्मा र मेचीनगरका उपप्रमुख मीना पोखरेल उप्रेतीबीच निरोज कट्टेलले छलफल चलाउनुभयो । उहाँहरुले नेपाली समाजको वर्तमान समस्या र समाधानका बारेमा बहस गर्नुभयो ।


अन्तिम सत्रमा राज्यको नीति निर्माण र कार्यान्वयनमा युवा सहभागिता विषयमा पूर्व मन्त्री एवम् सांसद महेश बस्नेत र राष्ट्रिय सभाका सांसद बद्री पाण्डेलाई पत्रकार गणेश पोखरेलले बहस गराउनुभयो । पूर्व मन्त्री बस्नेतले नीति निर्माणमा युवाको हस्तक्षेपकारी भूमिका हुनुपर्ने बताउनुभयो । सांसद पाण्डेले नीति निर्माण र कार्यान्वयन तहमा युवाको भूमिका कमजोर रहेको स्वीकार गर्नुभयो ।
जिल्लाका १५ वटै स्थानीय तहका युवा जनप्रतिनिधि, विधार्थी, राजनीतिक दलका युवा, महिला उद्यमी, व्यवसायीको सहभागितामा भएको सम्मेलनको पहिलो दिन इन्द्र प्रसाद ओलीले लागु औषध दुव्र्यसन विरुद्ध युवाको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो । सो कार्यपत्रमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइराला र गौरादह नगरपालिकाका प्रमुख रोहित कुमार शाहले टिप्पणी गर्नुभयो ।
कमल कोइरालाले दिगो विकास लक्ष्यमा युवाको भूमिका विषयक प्रस्तुत गरेको कार्यपत्रमा युवा नेता सिपी कडरिया र कुमार चुडालले टिप्पणी गर्नुभयो । यस्तै, सञ्जय चौधरीले युवा परिचालन (स्वयमसेवा, विपत जोखिम न्यूनिकरण र विकास निर्माण) विषयक प्रस्तुत गरेको कार्यपत्रमा युवा नेता शिव ढुङ्गेल र जिल्ला युवा समिति झापाका अध्यक्ष छवि चुडालले टिप्पणी गर्नुभयो । ००००००

Share.

Leave A Reply