विर्तामोड भद्रपुर रोडको ४ किलोमिटर बाटो निर्माण असार मसान्तसम्ममा सक्न सडक डिभिजन कार्यालयको निर्देशन, वेस निर्माण गर्ने बेला भएकाले मुक्ति चोकदेखि विजुली अफिसम्म पार्किङ नगरिदिन व्यवसायीको आग्रह

0

विर्तामोड, ६ चैत ।

फेसबुकमा आग्रह गर्दा स्थानीयले उपलब्ध गराउनु भएका फोटोहरुलाई यहाँ सामेल गरेका छौं ।

विर्तामोडबाट भद्रपुर जोड्ने विर्तामोड–भद्रपुर रोडको ४ किलोमिटर बाटो निर्माण असार मसान्तसम्ममा सक्न सडक डिभिजन कार्यालय दमकले निर्माण व्यवसायीलाई निर्देशन दिएको छ । गत पुस मसान्तमा काम सकिनु पर्ने समय सकिएको ६५ दिन पूरा भए पनि निर्माण सकिएको छैन ।
‘सरकारले सार्वजनिक खरिद नियमावलीको नवौं संशोधन २०७६ पुस १४ गते राजपत्रमा प्रकाशित गरी २०७६ जेठ २३ गते अघिका सबै ठेक्कालाई एकवर्षभित्र नसके कार्वाही गर्ने बताएको छ’, डिभिजन सडक कार्यालय दमकका प्रमुख श्यामकुमार यादवले भन्नुभयो, ‘डिभिजन सडक कार्यालय दमकले यही सरकारको कानुनलाई फलो गर्छ ।’ उहाँले विर्तामोडको भद्रपुर रोड निर्माण गर्ने आसिष प्रेरा जेभीलाई असार मसान्तअघि काम सक्न निर्देशन दिएको बताउनुभयो ।
विर्तामोडको भद्रपुर रोड निर्माणमा सक्रिय व्यवसायी केदार गिरीले सडकले भनेको समयमा काम सक्न लागिपरेको बताउनु भएको छ । तर, वेस लगाउन विर्तामोडको मुक्ति चोकदेखि विजुली अफिससम्म गरिएको पार्किङले काम गर्न नपाएको जिकिर गर्नुभयो । सो क्षेत्रमा दिनभर सयौं सवारी साधन पार्किङ हुने गरेका छन् ।
सडकमा भएको पार्किङ बारे प्रश्न गर्दा सडक कार्यालय दमकका प्रमुख यादवले पार्किङको विषय नगरपालिकाको अधिकार क्षेत्र भएकाले आफुले करिव तीन महिनाअघि नै नगरपालिकालाई पत्र लेखेर जानकारी गराएको र नगरले व्यवस्थित गर्नु पर्ने बताउनु भएको छ ।
यसबारे विर्तामोड नगरका प्रशासन प्रमुख, अधिकृत देवराज कार्कीलाई सोध्दा उहाँले व्यवसायी लगायत सबै पक्षसँग बसेर निकास निकालिने बताउनुभयो । ‘बाटोमा पार्किङ नगर्न सबैसँग अनुरोध गर्दछौं’, अधिकृत कार्कीले भन्नुभयो, ‘बाटोमा पार्किङ गर्नेलाई कार्वाही गर्छौं ।’ विर्तामोड नगरले नगर प्रहरीको नियुक्ति गरी तालिम दिइरहेको भन्दै अधिकृत कार्कीले अब ‘एक्सन’मा उत्रने बताउनुभयो ।
निर्माण व्यवसायी गिरीले आफ्नो अगाडि पार्किङ नगर्न आग्रह गर्न स्थानीय घरधनि र व्यवसायीलाई अनुरोध समेत गर्नु भएको छ ।

०००००००

 

Share.

Leave A Reply