अर्जुनधारा नगरले ११ वडाका ५५ स्थानमा दैनिक उपभोग्य बस्तु वितरण केन्द्र सञ्चालन गर्ने

0

विर्तामोड, १६ चैत ।

अर्जुनधारा नगर क्षेत्रभित्र कोरोना भाइरसको त्रासले किराना पसल समेत खुल्न छोडेपछि नगरपालिकाले खाद्यान्न वितरण गर्ने भएको छ । नगरपालिकाको आज सम्पन्न बैठकले लकडाउनका कारण हुनसक्ने खाद्यान्न संकट टार्न वितरण प्रणाली व्यवस्थित बनाउने निर्णय गरेको हो ।
अर्जुनधाराका ११ वटा वडामा ५५ वटा वितरण केन्द्र बनाइने भएको छ । उपमेयर कमला खतिवडा आचार्यको अध्यक्षतामा समिति गठन गरेर खाद्यान्न वितरणलाई व्यवस्थित बनाउने तयारी भएको हो ।


२ वटा गाडीको व्यवस्थापन गरेर नगरका प्रत्येक वडाका ५–५ वटा टोलमा सामग्री पुर्याउने तयारी गरिएको छ । ‘हामीले खाद्यान्नको आपूर्तिलाई सहज बनाउने तयारी गरेका छौं’, मेयर हरिकुमार रानाले भन्नुभयो, ‘अब अर्जुनधारा नगरभित्र कसैले पनि खाद्यान्न, तरकारीको अभाव खप्नु पर्ने छैन ।’
खाद्यान्नका लागि बसन्त सोमानी र पुष्प रेग्मीको समन्वयमा काम हुनेछ भने तरकारीका लागि मामा भान्जा कृषि सहकारी संस्था र श्रद्धा कृषि सहकारीले व्यवस्थापन गर्ने निर्णय भएको छ । अर्जुनधारा डेरी उधोगले दुध र दुधजन्य पदार्थको व्यवस्थापन गर्ने सहमति बनेको छ ।
नगरले उपमेयर खतिवडाको नेतृत्वमा गठन गरेको समितिमा प्रेमसागर सापकोटा, डम्वर चौधरी, राजु दाहाल, कमल भण्डारी, पुष्प रेग्मी, सारदा भट्टराई, नविन गट्टानी र बसन्त सोमानी सदस्य रहनु भएको छ । ०००००

Share.

Leave A Reply