चारआलीमा नेपाली सेनाको नयाँ श्रीनाथ गणको आवास क्षेत्रमा १०० बेडको क्वारेन्टाइन निर्माण सुरु

0

विर्तामोड, १७ चैत ।


चारआलीस्थित नेपाली सेनाको नयाँ श्रीनाथ गणको आवास क्षेत्रमा एक सय बेडको क्वारेन्टाइन निर्माण सुरु गरिएको छ । झापा जिल्ला कोरोना भाइरस रोकथाम, उपचार, अनुगमन तथा समन्वय समितिकोे बैठकले सेनाकै आवास क्षेत्रमा क्वारेन्टाइन बनाउने निर्णय गरेको समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिनुभयो ।
क्वारेन्टाइन बनाउन लागिएको सो सैनिक क्षेत्र मेचीनगर–१३ मा पर्छ । सर्पदंश उपचार केन्द्रको नजिकै रहेको सो आवास क्षेत्रमा थुप्रै खाली भवनहरु छन् । नेपाली सेनाको २१ नम्वर बाहिनी कमल गाउँपालिकाको चुलाचुली क्षेत्रमा सरेपछि सैनिक आवासका भवनहरु खाली थिए । बैठकले क्वारेन्टाइनका लागि विर्तामोडको अग्रसेन भवन, अतिथिसदन, अर्जुनधाराको दिपज्योति बोर्डिङ र कनकाईको कोटीहोम क्षेत्रमा सम्भाव्यता अध्ययन गर्ने निर्णय भएको उहाँले बताउनुभयो । हाल झापाको २० स्थानमा ३९५ क्षमताको क्वारेन्टाइन स्थानीय सरकारहरुको पहलमा निर्माण भइसकेको छ । जसमा ५६ जना व्यक्ति बसिरहेका र २ जना घर फर्किएको झापा जिल्ला समन्वय समितिको आधिकारिक वेबसाइटमा उल्लेख छ ।
मेचीनगरमा सबैभन्दा बढी २५ व्यक्ति क्वारेन्टाइनमा बसिरहेका छन् भने सो नगरमा ५९ बेडको क्वारेन्टाइन छ । ०००००

Share.

Leave A Reply