आपूर्ति व्यवस्थापनको नेतृत्व सबै स्थानीय तहले गर्ने गृहको निर्णय

0

विर्तामोड, १७ चैत ।

गृह मन्त्रालयले आपूर्ति व्यवस्थापनको नेतृत्व सबै स्थानीय तहले गर्ने निर्णय गरेको छ । गृहमन्त्री रामबहादुुर थापाको अध्यक्षतामा हिजो सिंहदरबारमा ‘आपूर्ति व्यवस्थापन सहज बनाउने’ विषयमा बसेको बैठकले आपूर्ति व्यवस्थापनलाई सहज बनाउन प्रत्येक वडाका वडाध्यक्षको संयोजकत्वमा स्थानीय प्रहरीको प्रतिनिधित्व हुने गरी समिति गठन गर्ने निर्णय गरेको हो ।
बैठकले बिक्री वितरण गर्दा न्यूनतम एक मिटरको दूरी कायम गर्ने, वडास्तरीय समितिले आफ्नो वडाभित्र रहेका हालको स्थितिमा रोजगारीको अभावमा गुजारा चलाउन नसक्ने व्यक्तिको लगत सङ्कलन गर्ने, स्टोर वा बिक्रेताले बिक्री गर्दा न्यूनतम दैनिक उपभोग्य वस्तु रहने गरी प्याकेज बनाउने निर्णयसमेत गरेको छ ।
यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक उपभोग्य वस्तुको मौज्दात नियमित रुपमा अद्यावधिक गरी सार्वजनिक गर्ने बैठकले निर्णय गरेको छ । बैठकमा गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, महानगरपालिका तथा नगरपालिकाका प्रमुखको उपस्थिति रहेको थियो । ०००००

Share.

Leave A Reply