सिरुवा पर्व विगत बर्षहरुमा जस्तो गरेर नमनाउन राजवंशी विकास प्रतिष्ठान झापाको अपिल

0

विर्तामोड, ३० चैत ।

कोरोना भाइरस (कोभिड १९) को जोखिमका कारण यस बर्ष सिरुवा पर्व विगत बर्षहरुमा जस्तो गरेर नमनाउन राजवंशी विकास प्रतिष्ठान झापाले अपिल गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमण नेपालमा पनि बढिरहेकोतर्फ ध्यानाकर्षण गराउँदै जोखिम मोलेर संस्कार संस्कृति नगर्न प्रतिष्ठानले सचेत गराएको छ ।
आज एक अपिल सार्वजनिक गर्दै प्रतिष्ठानले भोलिदेखि सुरु हुने राजवंशी, ताजपुरिया, गनगाई, धिमाल, माझी, चौधरी लगायतका जातिको महान पर्व सिरुवा भीडभाड हुने गरी नमनाउन आग्रह गरेको हो । ‘सिरुवा हाम्रो महान चाड भएपनि यस बर्ष हर्षोल्लासका साथ मनाउने अवस्था छैन’ प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशीले भन्नुभयो ।
उहाँले सिरुवा मनाउन खोज्दा त्यसबाट आफू, आफ्नो परिवार, समाज, देश र विश्वलाई पर्न सक्ने असरप्रति सजग बन्न आग्रह गर्नु भएको छ । भोलि नयाँ बर्ष २०७७ प्रारम्भ भएसंगै राजवंशी, ताजपुरिया लगायतका जातिको सिरुवा पर्व सुरु हुन्छ । उनीहरुले बैशाख १ गते पानी सिरुवा, २ गते कादो सिरुवा र ३ गते रंग सिरुवा सामूहिक रुपमा खेल्ने गर्दछन् ।
यस अवसरमा झापा, मोरङ लगायत जिल्लाका विभिन्न स्थानमा सिरुवा साँस्कृतिक कार्यक्रमहरु समेत आयोजना हुने गरेका छन् । तर, यस बर्ष कोरोना संक्रमणका कारण सामूहिक रुपमा सिरुवा खेल्ने तथा साँस्कृतिक कार्यक्रमहरु आयोजना नगर्न आग्रह गरेको उपाध्यक्ष इन्द्रसिंह राजवंशीले बताउनुभयो । त्यस्तै कोरोनाकै कारण झापा र मोरङका विभिन्न स्थानमा लाग्दै आएका ऐतिहासिक सिरुवा मेलाहरु पनि स्थागित गरिएका छन् । ००००००

Share.

Leave A Reply