कोरोनाको त्रासमा पनि पूर्वाञ्चल क्यान्सर अस्पताल सहज र भरपर्दो उपचारको केन्द्र बन्दै

0

विर्तामोड, ३० चैत ।

प्रदेश १ र २ का क्यान्सर बिरामीका लागि पूर्वाञ्चल क्यान्सर अस्पताल अहिले सहज र भरपर्दो उपचारको केन्द्र बन्दै गएको छ । विदेशमा यसअघि उपचार गराइरहेका समेत कोरोना भाइरसको रोकथामका लागि सरकारले गरेको बन्दाबन्दीमा नजिकको यही अस्पताल धाउन थालेका छन् ।
अस्पतालका मेडिकल डाइरेक्टर डा. वीरेन्द्र यादवले बन्दाबन्दीमा एक दिन पनि अस्पताल बन्द नरहेको बताउनुभयो । उहाँले बहिरङ्ग, रेडियसन, केमोथेरापी, प्रयोगशाला र शल्यक्रिया चालू रहेको जानकारी दिनुभयो । “लकडाउनको बेला दैनिक औसत ४० जना बहिरङ्गमा बिरामी आउनुहुन्छ”, चौबीसै घण्टा उपचार सेवा खुल्ला रहेको बताउँदै डा. यादवले भन्नुभयोे, “हामीले दैनिक ३० जनालाई रेडियसन र १५ जनालाई केमोथेरापी सेवा दिइरहेका छौँ ।”
चितवन, भक्तपुर र भारतको विभिन्न अस्पतालमा रेडियसन र केमो लिइरहेका बिरामी कोरोनाको कारण उत्पन्न असहज परिस्थितिमा पूर्वाञ्चल क्यान्सर अस्पतालमै आउने गरेको अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले बताउनुभयो । अस्पतालमा चौबीसै घण्टा इमर्जेन्सी सेवा चालु रहेको र बिहान ८ देखि बेलुका ६ बजेसम्म क्यान्सर रोगका विशेषज्ञ डाक्टर अस्पतालमै रहने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।
झापाको कमल गाउँपालिकामा बस्नुहुने आफ्नी आमा प्रेमकुमारी खतिवडाको नाकको क्यान्सर उपचारमा आउनुभएकी काठमाडौँकी खिला खतिवडाले बन्दाबन्दीका बेला अन्यत्र धाउनु परेको भए मुस्किल हुने जनाउँदै विर्तामोडमै भर्खरै सञ्चालनमा आएको अस्पतालमा उपचार पाउनु धेरै दृष्टिकोणले सुविधाजनक भएको बताउनुभयो । उहाँले बन्दाबन्दीका बेला १८ पटक रेडियसन र केमो दिन पाएको जानकारी दिनुभयो ।
बन्दाबन्दीका बेला क्यान्सरका बिरामीले उपचार नपाएर छटपटाउनु नपरोस् भनेर स्वास्थ्यकर्मीको जनशक्ति, औषधि र जाँचको प्रबन्ध पर्याप्त र भरपर्दो बनाइएको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीले बताउनुभयो । उहाँका अनुसार भारत र मुलुकका विभिन्न अस्पतालमा उपचार गराइरहेका बिरामी बन्दाबन्दीका कारण सहज उपचार खोज्दै पूर्वाञ्चल क्यान्सर अस्पताल आउने गरेका छन् । जुनसुकै अस्पतालमा उपचार गराएर हाल घरमा रहेका क्यान्सरका बिरामीले मोवाइल फोन मार्फत परामर्श लिन सक्ने व्यवस्थासमेत मिलाइएको जनसम्पर्क अधिकृत गिरीले बताउनुभयो । ०००००

Share.

Leave A Reply