२०७६ साल नेपाली भलिबलका लागि ऐतिहासिक

0

विर्तामोड, ३० चैत ।

२०७६ साल नेपाली भलिबलका लागि ऐतिहासिक रह्यो । राष्ट्रिय महिला टिमले एभीसी सेन्ट्रल जोन र १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा ऐतिहासिक सफलता प्राप्त गर्यो ।
सेन्ट्रल जोनमा नेपालले ऐतिहासिक स्वर्ण पदक हात पार्यो भने साग खेलकुदमा ऐतिहासिक रजत पदक प्राप्त गर्यो । दुवै पदक नेपालको महिला भलिबलले प्राप्त गरेको ऐतिहासिक सफलता हो । भलिबलको भावी पुस्ताले समेत यो सफलतालाई गौरवका साथ आत्मसाथ गर्नेछ ।
मैदान बाहिर समेत भलिबल खेललाई सफलता प्राप्त भएको छ । भलिबललाई राष्ट्रिय खेलको रुपमा मान्यता दिन सरकार तयार भएको छ । योसंगै भलिबल नेपालको आधिकारिक राष्ट्रिय खेल बनेको छ । दीर्घकालिन रुपमा भलिबलको विकास र समृद्धिमा सरकारको मान्यताले ठुलो अर्थ राख्नेछ ।
वर्ष २०७६ मा नेपालको भलिबलमा केही महत्वपूर्ण परिवर्तन भएका छन् । राष्ट्रिय महिला टिममा आएको परिवर्तनसंगै दुई ठुला महिला खेलाडीले गम्भीर चोट बोक्न पुगेका छन् । यसले राष्ट्रिय महिला टिमको प्रर्दशन र नतिजामा धेरै प्रभाव पार्ने देखिन्छ ।
महिला टिमले एकपछि अर्को सफलता प्राप्त गरिरहँदा पुरुष टिमले भने निराशाजनक नतिजा आत्मसाथ गर्यो । घरेलु भूमीमै भएको एभीसी सेन्ट्रल जोन र साग खेलकुदमा पुरुष टिमले समूह चरण समेत पार गर्न सकेन ।
यस वर्ष महिला भलिबल टिममा ठूलो परिवर्तन गरियो । सेन्ट्रल जोन तथा सागका लागि छनोट गरिएको प्रारम्भिक टिममा पुराना खेलाडीलाई प्रारम्भिक टोलीमै राखिएन । कप्तान र उपकप्तान नै प्रारम्भिक छनोटमा परेनन् ।
कप्तान बिनिता बुढाथोकी, उपकप्तान मञ्जु गुरुङ, नेबिका चौधरी, मनिषा चौधरी, कोपिला उप्रेती र कृपा अधिकारीलाई बाहिर राख्दै भलिबल संघले प्रारम्भिक राष्ट्रिय टिम घोषणा गर्यो ।
सेन्ट्रल जोन खेल्ने टिममा ६ नयाँ अनुहार सलिना श्रेष्ठ, पुनम चन्द, सुनिता खड्का, जानकी भण्डारी, निरुता ठगुन्ना र सोफिया पुनले स्थान बनाए । सागको टिममा उषा भण्डारी र हिरा केसी पनि परे ।
नयाँ अनुहारले राष्ट्रिय टिममा आफुलाई निराश बनाएनन् । उनीहरुकै प्रर्दशनमा नेपालले सेन्ट्रल जोन र सागमा ऐतिहासिक पदक जित्न सफल रह्यो ।
महिला भलिबल टिमले बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोनमा पहिलोपटक ऐतिहासिक स्वर्णपदक जित्यो । अन्तर्राष्ट्रिय प्रतियोगितामा कास्यमै सिमित रहदै आएको महिला टिमले भलिबल इतिहासमा पहिलो पटक स्वर्णपदक जितेको हो ।
लगत्तै घरेलु भूमिमा भएको सागमा रजत जितेर नेपालले दक्षिण एसियाली भलिबलमा आफुलाई उदाउँदो शक्तिको रुपमा परिचित गर्यो । महिला भलिबलमा निकै बलियो टिम भारतसँग ३–२ ले खेल गुमाए पनि नेपालले पहिलो पटक कडा चुनौती पस्किन सफल रह्यो । ०००००

Share.

Leave A Reply