“हरेक घरमा ‘किचन गार्डेन’ हुनुपर्छ” : संघीय सांसद कार्की

0

लकडाउन घोषणापछि फुर्सदिला हुनेहरुको साथी बन्दै करेसाबारी

विर्तामोड, ३० चैत ।

कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको छ । विभिन्न पेशा–व्यवसाय गर्ने अहिले फुर्सदिला भएका छन् । उनीहरुको साथी अहिले करेसाबारी बन्न थालेको छ ।
फुर्सदिलो समयको सदुपयोग हुनुका साथै दैनिक आवश्यक पर्ने तरकारी पनि उत्पादन हुने भएकाले अहिले अधिकांश मानिस करेसाबारीमा ब्यस्त देखिन थालेका छन् । झापा भद्रपुर–७ का आदित्य पौडेलले लकडाउनको समयमा विभिन्न प्रकारको सागसब्जी लगाएको सुनाउनुभयो ।
“अरु काम केही छैन, बाहिर निस्कन मिल्दैन”, उहाँले भन्नुभयो, “घरमा बसेर समय बिताउनुभन्दा केही सागसब्जी लगाउन थालेको छु ।” उहाँले बारीमा फर्सी, साग, भिण्डी, धनिया लगायत सागसब्जी लगाउनुभएको छ । उहाँजस्तै, भद्रपुरका दीप लिम्बू पनि करेसाबारीमै व्यस्त छन् । “अरु बेला कामले केही गर्न भ्याइँदैन, अहिले फुर्सद छ”, उहाँले भन्नुभयो, “जसले लकडाउनको पनि पालना हुन्छ, समयको सदुपयोग पनि ।”
झापा क्षेत्र नं. १ का सांसद् राम कार्की (पार्थ) पनि करेसाबारी स्याहार्दै हुनुहुन्छ । करेसाबारीमा गोडमेल गर्दै गरेको फोटो पोस्ट गर्दै कोरोना भाइरसबाट बच्न घरमै बसेर लकडाउनको पालना गर्न र सामाजिक दूरी कायम गर्न उहाँले आग्रह गर्नुभएको छ ।
पत्रकारसँग कुरा गर्दै उहाँले व्यावसायिकरुपमा खेती गर्न नसकिए पनि आत्मनिर्भर (आफूलाई मात्र भए पनि खान पुग्ने) खेती हरेक नेपालीले गर्न आवश्यक रहेको औँल्याउनुभयो । “हरेक घरमा ‘किचन गार्डेन’ हुनुपर्छ”, उहाँले भन्नुभयो, “जसले परनिर्भरता हटाउँछ, आत्मनिर्भर बन्न सहयोग पुग्छ ।”
मानिसमा सचेतना बढेसँगै स्थानीयस्तरमा उत्पादित तरकारीको खपत बढेको छ र भारतबाट आयात गरिएका तरकारी कम रुचाउने गरेको स्थानीयको अनुभव छ । अहिलेको सिजनअनुसार भिन्डी, फर्सी र लौकालगायत तरकारी लगाउन उपयुक्त हुने सांसद कार्कीले बताउनुभयो ।
अहिले धेरै मानिस करेसाबारी बनाउन लागेका छन् । यसलाई लकडाउनको एउटा सकारात्मक पाटोका रुपमा लिन सकिन्छ । सङ्कट जति बेला पनि आउन सक्छ र आफूलाई चाहिने सागसब्जी आफैँ उत्पादन गर्नुपर्ने रहेछ भन्ने चेत पलाउँदै गएको छ, यो एउटा सकारात्मक पक्ष हो । ००००००

Share.

Leave A Reply