कोरोना भाइरस संक्रमणका कारण विश्वभर ११७ जना नेपालीको मृत्यु

0

विर्तामोड, ११ जेठ ।

कोरोना भाइरस संक्रमणका कारण विश्वभर १ सय १७ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । एनआरएनएको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार यो साता थप २१ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
तथ्यांक अनुसार युएईमा ९, साउदी अरबमा ५, युकेमा २, नेपालमा २, अमेरिकामा १, कतारमा १ र कुवेतमा १ जना नेपालीको यो साता ज्यान गएको हो ।
एनआरएनएको स्वास्थ्य समिति संयोजक डा. सञ्जीव सापकोटाका अनुसार सबैभन्दा बढी बेलायतमा ६५ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ । यस्तै संयुक्त अरब इमिरेट्स्ट (युएई) मा १८ जना नेपालीले ज्यान गुमाएका छन् ।
अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउने नेपालीको संख्या १६ जना पुगेको छ । साउदी अरबमा ७, नेपालमा ३, कतारमा १, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डमा १, बहराइनमा १, स्वीडेनमा १, कतारमा १ र कुवेतमा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९५ पुरुष र १९ जना महिला रहेको स्वास्थ्य समितिले जनाएको छ । त्यस्तै, ५० देखि ९० वर्ष उमेर समूहमा सबैभन्दा धेरै ५३ प्रतिशतको निधन भएको छ ।
स्वास्थ्य समितिको तथ्यांक अनुसार २३ प्रतिशत ४० देखि ५० वर्ष उमेर समूहका छन् । ४० वर्षभन्दा कम उमेर समूहमा निधन हुने नेपालीको संख्या १६ प्रतिशत छ । बाँकी ८ प्रतिशतको उमेर समूह खुलेको छैन ।
संयोजक डा. सापकोटाका अनुसार नेपालसहित विश्वभर १२ हजार ८ सय २१ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये ४ हजारभन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएको सापकोटाले जानकारी दिनुभयो । ००००००

Share.

Leave A Reply