प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८६ जना पुग्यो, झापाका ३६ जना, झापा गाउँपालिका सिल गर्नेबारे आज निर्णय हुने

0

विर्तामोड, ११ जेठ ।

हिजो शनिबार झापामा एक जना थपिएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८६ जना पुगेको छ । झापाका मात्र ३६ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु अधिकांश भारतबाट आएकाहरु हुन् र दक्षिण झापाको कचनकवलबाट नेपाल छिरेका हुन् ।
प्रदेश १ का १४ वटा जिल्ला मध्ये आधामा संक्रमितहरुको पुष्टि भएको छ । सबैभन्दा बढी झापाका ३६ जना छन् । तीमध्ये दमक नगरपालिका र बाह्रदशी गाउँपालिकाका १–१ जना संक्रमित उपचारपछि घर फर्किएका छन् । कचनकवल गाउँपालिकामा मात्र ३३ जना संक्रमित भेटिएका हुन् भने शनिबार झापा गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको हो । झापा गाउँपालिकाको आजको बैठकले गाउँपालिका क्षेत्रलाई सिल गर्ने कि कसरी अगाडि बढ्ने भन्ने निर्णय गर्ने बताइएको छ ।
झापापछि उदयपुरमा पुष्टि भएका संक्रमितको संख्या ३३ छ । यस्तै, धनकुटामा ७, मोरङका ५, सुनसरीका ३, खोटाङ र भोजपुरका १–१ रहेको प्रदेश सरकारले जनाएको छ । संक्रमितहरुलाई विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा राखिँदै आएको छ । त्यहाँ राखिएकामध्ये २६ जना डिस्चार्ज भएका छन् ।
प्रदेशभर ४ हजारभन्दा बढीको पीसीआर परीक्षण भइसकेको छ । कोभिड—१९ को नियन्त्रण, उपचार व्यवस्थाका लागि अहिले सञ्चालनमा रहेका बेड क्षमताहरुको समेत बढाइने भएको छ । भारतबाट आउने क्रम नरोकिएसँगै प्रदेश सरकारले थप विभिन्न स्थानमा क्वारेन्टाइन स्थापना गर्ने भएको छ । कोभिड—१९ को परीक्षण कार्ययोजना स्वीकृत गरेसँगै प्रदेशभर संक्रमित पहिचानका लागि परीक्षणको दायरा पनि बढाइने भएको छ ।
प्रदेशमा भारतबाट स्वदेश फर्कने नेपाली नागरिकहरुको व्यवस्थापन गर्ने संयुक्त कार्ययोजना बनाइएको छ । यस अनुसार इलाम, झापा, मोरङ र सुनसरीमा ‘होल्डिङ्ग एरिया’ पहिचान गरी निर्माण थालिएको प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ । होल्डिङ्ग एरियामा १५ हजार शैय्या रहने जनाइएको छ । इलाममा २ हजार, झापामा ४ हजार, मोरङमा ५ हजार र सुनसरीमा ४ हजार शैय्या तयार गरिंदै छ । ०००००

Share.

Leave A Reply