६६ दिनपछि बल्ल भूइँ छुन पाएँ

0

मायामितु

 

केही दिनयता मन फुरुङ्ग छ । जसरी लगातार परेको झरीपछि आकाश खुल्छ, जसरी लामो हिउँपछि घाम लाग्छ, जसरी लामो उकालो चढेपछि बिसौनी आउँछ, ठीक त्यस्तै भएको छ मन । तपाईंलाई पनि विश्वास नलाग्न सक्छ, मैले ६६ दिनपछि भूइँ टेक्दैछु ।
झापास्थित म काम गर्ने रेडियोको स्टुडियोको तेस्रो तल्ला र चौथो तल्लामा काम गर्दै, किताब पढ्दै, सिनेमा हेर्दै र दैनिक क्रियाकलाप गर्दागर्दै कसरी ६६ दिन बिते अविश्वसनीय छ । सुरुका दिनमा माथिल्लो तलामा बस्दा भूइँ टेकिरहेकी छैन भन्ने कुरा याद भएन । लकडाउन र कोरोनाको डरले पनि त्यतातिर ध्यान पुग्न सकेन । समाचारहरु भयावह थिए । त्यसैले पनि आफ्नो दिनचर्यामा सबैले फरक ल्याएकै हुन् । मैले पनि ल्याए ।
तर एक–डेढ महिना बितेपछि भने मलाई महसुस भयो, मैले त माटो छोएकै छैन । यो एउटा चुनौती जस्तो भयो, मेरा लागि । आखिर कति दिनसम्म भूइँ टेक्न पाइँदैन, त्यो हेर्न मन लाग्यो । आज–आज, भोलि–भोलि, दिनहरु बित्दै गए । जब कुनै कुरा मबाट छुटिरहेको भन्ने लाग्छ, त्यसको प्यास लाग्न थाल्दोरहेछ । जब बाल्कोनीबाट, छतबाट तल फाट्टफुट्ट मानिसहरु हिँडेको देख्थेँ, मन तल झर्न खोज्थ्यो । तर बिना काम म तल झर्न चाहन्नथिएँ र आफैँलाई चुनौती दिन चाहन्थेँ । हेरौँ, कति दिनसम्म भूइँ नटेकी बिताउन सकिँदोरहेछ‘।
तर जतिसुकै माथि पुगे पनि झर्ने ठाउँ त भूइँ नै होे, त्यही माटो नै हो । चाहे सगरमाथाको चुचुरोमा होस् या रुखको टुप्पोमा । त्यसभन्दा माथि जाने ठाउँ नभएपछि तलै झर्नुपर्छ । जसरी सगरमाथा आरोहीहरु चुचुरोमा पुगेर फेदीमा झर्छन्, रुखको टुप्पोमा पुगेर पनि मानिसहरु फेदमै झर्छन्, झर्नुपर्छ । म पनि आज ६६ दिनपछि रेडियोबाट तल झर्दैछु । भूइँ टेक्दैछु । भूइँ टेक्ने कुरा आउने बित्तिकैदेखि मन म्याराथुन दौडिरहेको छ ।
कारण नपरी भूइँ टेक्दिनँ भन्ने मेरो प्रण थियो । तर केही दिनयता मलाई माटोले बोलाइरहेको थियो । म बहाना खोजिरहेकी थिएँ । यसै बीचमा घरमा पूजाको कार्यक्रम आयो । घरबाट खबर आएपछि भूइँ छुने मौका पनि आइहाल्यो । तल झरेपछि पहिले के गर्छु होला रु मेरालागि त्यो माटो पहिले जस्तै साधारण होला कि त्यसले केही तरंग ल्याउला रु
भूइँमा नटेकुञ्जेल जुन भाव थियो, त्यो केही कम भयो । तल झर्नुको पनि एउटा आनन्द रहेछ भन्ने महसुस भयो । त्यसपछि हतारमा म रेडियोकै एक सहकर्मी साथीलाई लिएर घर गएँ । त्यो बेलासम्म लाग्दै थियो, ६६ दिनपछि पनि कुरा सामान्य नै छ ।
तर होइन रहेछ, घर पुग्नेबितिकै भाउजूले बस्न आग्रह गर्नुभयो तर मलाई भने बारीतिर जान मन लाग्यो । सहकर्मी साथीलाई त्यहीँ छाडेर म बारीतिर गएँ । बारीमा फर्सीका मुन्टा, करेला, टमाटर, इस्कुस, अकबरे खुसार्नी फलिरहेका थिए । अलि पर कुखुरा फार्ममा कुखुराहरु मस्त संगीतको तालमा खेलिरहेका थिए । तपाईंहरुलाई थाहै होला, कुखुराहरुले मजाले संगीत सुन्छन् । बोइलर, लेयर जातका कुखुराहरु संगीत सुन्दै चारो खान रुचाउँछन् । संगीत नबजाई चारो दिँदा उनीहरु झोक्राएर बस्ने गरेको अनुभव धेरै किसानहरुको छ ।

एकपल्ट होइन, पटक पटक आफ्नो नाम लेख्दै मेट्दै गर्दा गर्दै आँखा भरिएर आयो । लेख्दै गर्दा म माटोसँग कुरा गर्दैछु जस्तो लाग्यो, मेटाउँदै गर्दा ऊसँग छुट्टिदैछु जस्तो लाग्यो । यो माटोसँग मेरो यति गहिरो तादाम्य छ भन्ने मैले सोचेकै रहेनछु ।

हाम्रो कुखुराहरुमा पनि यो बानी छ । यिनै कुखुराका लागि लगाइएको मधुरो संगीत बारीभरि छरिएको थियो । म त्यही संगीत सुन्दै बारीमा टुक्रुक्क बसेँ । अनायासै हातले माटो खेलाउन थाले । बच्चा हुँदा निस्फिक्री माटो खेलाएको सम्झँदै चोर औंलाले आफ्नै नाम लेख्दै मेट्दै गर्न थालेँ । माया, माया, माया । आफ्नै नामको माया लाग्न थाल्यो ।
एकपल्ट होइन, पटक पटक आफ्नो नाम लेख्दै मेट्दै गर्दा गर्दै आँखा भरिएर आयो । लेख्दै गर्दा म माटोसँग कुरा गर्दैछु जस्तो लाग्यो, मेटाउँदै गर्दा ऊसँग छुट्टिदैछु जस्तो लाग्यो । यो माटोसँग मेरो यति गहिरो तादाम्य छ भन्ने मैले सोचेकै रहेनछु । आँखाबाट तपतप आँशु बग्दैछ, म आफ्ना नाम लेख्दै मेट्दै गर्दैछु ।
थाहा छैन, यो माटोको माया हो कि आफ्नो माया । आफ्नो माया भनुँ भने मसँग म सधैँ छु तर कहिल्यै यसरी आँशु आएनन् । सायद यो माटोको माया थियो । माटो भन्नु सायद जीवन हो । माटो भन्नु सायद देश हो । म माटोमा आफ्नो नाम लेख्दै के–के सोच्न थालेँ र अनायासै आँशु बगाउन थाले । यो आँशु पक्क पीडाको थिएन । सायद खुसीको थियो कि १ मनोवैज्ञानिकहरुले यसको विश्लेषण गरुन् ।
चिया पकाएपछि भाउजूले बोलाउनु भएछ । भाउजूको आवाजले झसङ्ग भएँ । यो बेलासम्म मैले घर, घरमा छाडेका सहकर्मी र मेरो अवस्था सबै बिर्सिएकी रहेछु । केही तरकारी टिपेर फर्किएँ । ताकि म बारीमा अल्मलिनुको बहाना देखियोस् । त्यसपछि मलाई धेरै बेरसम्म भिडमा बस्न मन लागेन । म चाँडै नै घरबाट फर्किएँ तर फर्कनुअघि फेरि एकपटक हातमा माटो लिएँ र एक छिन खेलाएँ । सहकर्मीले सायद मेरो मनोभाव याद नै गरेनन् ।
फर्कंदा म केही अन्तरमुखी भएकी थिएँ । बाटोमा भएका कुराहरु नियाल्दै थिएँ । यो दुई महिनामा पनि धेरै परिवर्तन भएछ । रेडियो अगाडिको सडक बन्दै थियो, त्यो बनिसकेछ । नाली बन्दै छ । बिर्तामोड—भद्रपुरको चार लेन सडक निर्माण कार्य पनि धमाधम भइरहेको रहेछ । काम गर्नेहरु सबैले माटो टेकिरहेका छन् । बाटोमा पर्ने बुट्टाबारी चिया बगानमा चियाका मुना टिप्न व्यस्त थिए चिया मजदुरहरु । उनीहरु पनि भूइँ टेकिरहेका छन् । अलि पर बुट्टाबारी र चारआली बीचमा कसैको मृत्युको अन्तिम संस्कार भइरहेको थियो । त्यो शरीर पनि जलेर खरानी हुँदैथियो र त्यो खरानी पनि माटोमै मिल्दै थियो । यो बेला धेरै मलामी जान नमिल्नु पर्ने हो तर झण्डै दुई सय भन्दा बढी मलामी मैले देखेँ । सायद घरमा बस्दा बस्दा उनीहरुलाई प्रकृतिसँग रमाउन मन लाग्यो र मलामीको बहानामा उनीहरु पनि भूइँ टेक्दैछन् । मानिसहरु पनि खुला रुपमा हिँडिरहेका थिए । मलाई अनुभूति के भयो भने यिनीहरु पनि भूइँ टेकेकै कारण आफूलाई सुरक्षित महसुस गरिरहेका छन् ।
म जस्ता गाउँलेहरुको नाता भूइँसँग धेरै निकट छ । सहरमा हुर्किएका बच्चा थोरै स्वास्थ्य समस्यामा पनि अस्पताल पु¥याउनु पर्छ । गाउँका बच्चाहरु माटोमा खेल्छन्, हुर्किन्छन् । उनीहरु स्वस्थ हुन्छन् । माटोमा खेल्ने बच्चाहरु बलियो हुन्छन् । उनीहरुको रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ । हुन त हाम्रो शरीरको बाहिरी आवरण छाला भएजस्तै माटो पनि पृथ्वीको छाला नै हो । सानामा हामी घाँस काट्दा या कुनै चोटपटक लाग्यो भने माटोको लेप लगाउँथ्यौँ । त्यतिबेला माटोको लेपले नै ठीक हुन्थ्यो । अहिले जस्तो टिटनासको सुई कहाँ पाइन्थ्यो र त्यतिबेला १ त्यसैले माटोमा ब्याक्टेरिया पनि पाइन्छ भन्ने लाग्यो । वास्तवमा सम्पूर्ण प्रकृतिको आधार माटो नै । जसरी प्रकृतिमा पाइने हरेक कुरासँग माटो मिलेको हुन्छ, त्यस्तै मानिसको जीवनसँग पनि लय मिलाएको छ यसले ।
कोरोनाका कारण देश लकडाउनमा छ तर सबै भूइँ टेक्न हतारिएका छन् । जीवजन्तु खुलारुपमा भूइँ टेकिरहेका छन् र त खुसी छन् १ ६६ दिनपछि भूइँ टेक्दा मलाई महसुस भयो, भूइँ बिनाको जीवन जीवन नै होइन रहेछ ।
केही समयअघि आप्mनो कार्य क्षेत्रमै रहेर काम गर्दै जाँदा माटो नटेकेको कुरा यही साहित्यपोस्टमा लेखेकी थिएँ । त्यसबेला माथि बस्नुको रमाइलो उल्लेख थियो । माथि पुग्ने रहर कसलाई हुँदैन र रु माथि जानु भनेको प्रगति पनि हुनु हो । यसरी माथि पुग्ने आफ्नो धरातल बिर्सनु हुँदैन भनेर भन्ने गरिन्छ । मैले पनि धेरै पटक यो कुरा सुनेकी हुँ तर आज यसको अर्कै अर्थ लाग्दैन ।
सायद हामी भूइँ मान्छेहरुलाई माथिको भन्दा बढी भूइँकै याद आउँछ । हामी केही दिन भूइँ छाड्न सक्छौँ तर फर्केर यही भूइँमै आइपुग्नु पर्छ ।

Share.

Leave A Reply