भद्रपुर नगरपालिकाको लापरबाहीले कोरोना संक्रमित एक दिन घर बसे

0

विर्तामोड, २३ जेठ ।

भद्रपुरमा कोरोना भाइरस संक्रमण पुष्टि भएका तीनजना एक दिन घर बसेको खुलेको छ । भद्रपुर नगरपालिकाको लापरबाहीले उनीहरू घर पुगेका हुन् ।

भारतबाट आएर भद्रपुरस्थित क्वारेन्टाइनमा बसेका भद्रपुर–१ का ५६ वर्षीय पुरुष र वडा नम्बर ३ का १९ वर्षीय पुरुष र कचनकवल गाउँपालिका–६ का ४५ वर्षीय पुरुषमा हिजो कोरोना संक्रमण पुष्टि भएको हो। कोरोना पुष्टि हुनुभन्दा एक दिनअघि भद्रपुर नगरपालिकाले संक्रमित तीनजनासहित ११ जनालाई बसमा हालेर आ–आफ्नो घर पठाएका थिए ।

उनीहरु कलवलगुरीको क्वारेन्टाइनमा बसेका थिए। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ११ जनामध्ये ८ जनाको रिपोर्ट पठाएको थियो । तर, नगरपालिकाको स्वास्थ्य शाखाले सबैको रिपोर्ट नेगेटिभ आएको भन्दै उनीहरूलाई घर पठाएका थिए । नेपाली सेनाको प्रत्यक्ष निगरानीमा रहेको कलवलगुरीको क्वारेन्टाइनका सबै जनाको रिपोर्ट नेगेटिभ आएको भनी भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठले जानकारी गराएपछि उनीहरूलाई घर जान अनुमति दिएको एक सुरक्षाकर्मीले बताउनुभयो ।

नगरपालिकाले स्कुल बस भारतबाट आउनेलाई क्वारेन्टाइन र घर पुर्याउँदै आएको छ । तीनजना संक्रमितसँगै बसमा नगरपालिकाका एक चालक, नगर प्रहरी र नगरप्रमुख श्रेष्ठ पनि चढेको बताइएको छ । यता नगर प्रमुख श्रेष्ठ, चालक र नगर प्रहरीलाई जिल्ला जनस्वास्थ्य कार्यालय झापाले सेल्फ क्वारेन्टाइनमा बस्न सुझाव दिएको छ ।

प्रमुख श्रेष्ठले नगरपालिकाका स्वास्थ्य शाखाको कमजोरी भएको स्वीकार गर्नु भएको छ । उहाले आफूसहित चालक र नगर प्रहरी पनि क्वारेन्टाइनमा बस्ने बताउनुभयो ।

नगरपालिकाको लापरबाहीले संक्रमित घरमा पुगेपछि सामाजिक सञ्जाल व्यापक आलोचना भइरहेको छ। गाउँमा त्रास फैलिएको छ । ००००००

Share.

Leave A Reply