केरलामा हात्तीको मृत्युलाई लिएर वन अधिकारीले अनुसन्धान थाले

0

विर्तामोड, २३ जेठ ।

भारतमा बिस्फोटक पदार्थसहितको भूँकटरह खाएपछि गर्भवती हात्ती मरेको सम्बन्धमा वन अधिकारीले अनुसन्धान थालेका छन् ।
भारतको केरलामा गर्भवती हात्तीको मृत्यु भएको हो । घटनाका सम्बन्धमा एक वन अधिकारीले सामाजिक सञ्जालमा जानकारी पोस्ट गरेका थिए । त्यसपछि हात्तीको मृत्युलाई लिएर आक्रोश बढेको छ ।
भूँकटहरमा कसले बिस्फोटक पदार्थ राख्यो, किन त्यसो गरियो वा यो दुर्घटना मात्रै थियो या योजना नै भन्ने स्पष्ट भएको छैन । गएको हप्ता सो घटना भएको हो । बिस्फोटपछि गम्भीर घाइते भएको हात्तीले धेरै दिन गम्भीर पीडामा बिताएर ज्यान गुमाएको हो ।
पशु चिकित्सकले गर्भवती हात्तीलाई बचाउने प्रयास गरेका थिए । तर सफल हुन सकेनन् ।
भारतमा हाल २७ हजारको हाराहारीमा जंगली हात्ती छन् । यस्तै २५ सय हात्ती घरपालुका रुपमा रहेका छन् ।
घटनापछि भारतका वातावरण मन्त्री प्रकाश जावेदकरले सरकारले यो घटनालाई गम्भीर रुपमा लिएको बताउनुभयो । हात्तीको हत्यामा संलग्न भएको आशंकामा तीनजनामाथि निगरानी बढाइएको छ । दुईजनासँग सोधपुछ भइरहेको जनाइएको छ ।
केरलाको वन विभागले यसअघि हात्तीको मृत्युको सम्बन्धमा ठोष प्रमाण फेला नपरेको बताएको थियो । किसानले जंगली बंदेलबाट बाली जोगाउनका लागि पासोका रुपमा बनाएको पिग क्र्याकर भनिने बिस्फोटक पदार्थ युक्त भूँकटहर हात्तीले खाएको हुन सक्ने अनुमान गरिएको छ ।००००००

Share.

Leave A Reply