प्रदेश सभाका सदस्य केदार कार्कीलाई खुल्ला पत्र

0

श्री केदार कार्की
प्रमुख सचेतक
नेपाली कांग्रेस, संसदीय दल
प्रदेश १, विराटनगर

विषय : खुल्ला पत्र ।

 

प्रस्तुत विषयमा प्रदेश सभाका सदस्य तपाईं श्री केदार कार्कीले प्रदेशसभामा भाषण गर्दै मिडियाका सन्दर्भमा व्यक्त गर्नु भएको विचारबारे एउटा मिडिया रेडियो भिजन ९१.६ मेगाहर्ज र www.radiovision.com.np को प्रबन्ध निर्देशकका रुपमा केही नलेख्नु भनेको तपाईंले लगाएका आरोप सत्य हुन भनेर स्वीकार गर्नु हो भन्ने लागेर विषयलाई प्रष्ट पार्ने प्रयास गरेको छु ।

 

१. तपाईं श्री केदार कार्कीलाई मैले व्यक्तिगत रुपमा चिनेको छैन । र, चिन्न आवश्यक पनि छैन । तपाईं मोरङ जिल्लाबाट राजनीति गर्नुहुन्छ र मोरङ जिल्लाको संघीय निर्वाचन क्षेत्र नम्वर ६ को प्रदेश निर्वाचन क्षेत्र नम्वर १ बाट चुनाव जित्नु भएको हो अरे भन्ने अहिले तपाईंले मिडियाका बारेमा व्यक्त गर्नु भएको धारणापछि खोजी गर्दा थाहा पाएँ । तपाईं जस्तै प्रदेशसभा सदस्य देशभरमा ५५० जना हुनुहुन्छ । हामी जस्तो सर्वसाधारणले चिनेर पनि संभव छैन । त्यसैले यहाँलाई थाहा नै हुनुपर्छ, नचिनेको मान्छेसँग रिसराग के हुनु र ? त्यसैले तपाईंसँग कुनै आग्रह पूर्वाग्रह विना यो चिठ्ठी लेख्तै छु । समय मिले यहाँले पढ्नु हुनेछ भन्ने अपेक्षा छ ।

 

२. प्रदेश सरकारले कोरोना जनसुरक्षा कोषबाट मिडियालाई सुचना विज्ञापन दियो भनेर तपाईंले ‘विष बमन’ गरेको भिडियो प्रदेश १ मा भाइरल भएछ । मैले पनि सुनेँ । त्यसैले तपाईंलाई प्रष्ट पार्नुपर्छ भन्ने लागेको छ । पहिले तपाईं कोरोना भाइरसबारे जानकारी राख्ने सम्वन्धमा अल्पबुद्धि भयङ्करी भएको मैले महसुुस गरेको छु । जे बोल्ने हो त्यो भन्दा अगाडि त्यो विषयमा अध्ययन गरेको राम्रो । विषयको ज्ञानभन्दा अरुले उचालेर तपाईंले बोलेको जस्तो लाग्यो । यसमा आफु पहिले कन्फिडेन्स भएको राम्रो भन्ने लागेको छ । तपाईंले बोल्दा झापाका कोरोना संक्रमितले रातभर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वेड नपाएर गाडीमै विताउनु पर्यो भनेर भन्नु भएको छ । त्यो विषय तपाईंले कहाँबाट थाहा पाउनुभयो ? तपाईं प्रदेशसभाको सदस्य भएकाले पक्का पनि प्रतिष्ठानमा राति सेक्युरिटी गार्डको जागिर गर्दै त हुनुहुन्नथ्यो होला ? तपाईंले मिडियाबाट नै यो थाहा पाउनुभयो भन्ने लागेको छ ।

 

३. कोरोना कोषबाट मिडियालाई पैसा दियो जनतालाई राहत बाँढ्नु पर्थ्र्यो भन्ने यहाँको तर्क छ । कोरोना भाइरसको संक्रमण कसरी फैलन्छ र कसरी त्यसबाट बच्ने भन्ने जानकारी यहाँले कहाँबाट थाहा पाउनुभयो ? यहाँ त ठुलो मान्छे डाक्टरहरु घरमै आएर पनि यहाँलाई भने होलान् । हामी सर्वसाधारणले थाहा पाएको र पाउने भनेको मिडियाबाट नै हो । त्यसैले यहाँकै तर्कलाई आधारमान्दा अहिले प्रदेशभरमा २०० जनाजति संक्रमित हुँदा त विराटनगर र धरानका अस्पतालमा बेड छैन भने कोरोना महामारीका रुपमा फैलँदा तपाईंले के प्रदेशभरका नागरिकलाई अस्पतालको बेड र भेण्डिलेटर निर्माण गराउन सम्भव छ ? यदि सो सम्भव छैन भने कोरोनाको संक्रमणबाट बच्ने उपाय नागरिकलाई मिडिया मार्फत जानकारी गराउनुको विकल्प के छ ? के तपाईं आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो गर्दै बताउँदै हिँड्नु भएको छ ?

 

४. प्रदेश सरकारको कोरोना जनसुरक्षा कोषबाट होइन, अन्य शीर्षकबाट कोरोनाको जनचेतना फैलाउने सुचना दिनु पथ्र्यो भन्ने यहाँको धारणा सुने । कार्कीजी प्रदेशमा स्थापना भएको सो कोषमा नेपाल परिवार नियोजन संघ झापा शाखाले ५१ हजार रुपैयाँ जम्मा गरेको छ । म सो संस्थाको सचिव पनि हुँ । हामी भोलेन्टियरले ५००–१००० रुपैयाँ जम्मा गरेर सो पैसा कोषमा जम्मा गरेको हो । खातामा पैसा जम्मा गरेर हाम्रो क्षेत्रका प्रदेशसभा सदस्य ओमप्रकाश सरावगी र बसन्त बानियाँलाई हामीले भौचर उपलब्ध गराएका छौं । हामी जस्ता नागरिकले लगभग तीन करोड रुपैयाँ प्रदेश १ मा जम्मा गरेछौं । सो कोषको करिव २५ करोड रुपैयाँ त प्रदेश सरकारले नै जम्मा गरेको हो । जहाँबाट दिए पनि त्यसले के फरक हुन्छ र ? त्यही कोषमा चाहिने अरु पैसा पनि त प्रदेश सरकारले नै व्यवस्था गर्ने होला नि । तपाईंले राज्यबाट पाएको पारिश्रमिक त्यो कोषमा जम्मा गर्नु भो, हामीले छोराछोरीलाई चक्लेट किदिदिने ५००–१००० रुपैयाँ सो कोषमा जम्मा गर्यौं । तपाईंले जम्मा गरेको भन्दा हामीले जम्मा गरेको पैसाको ओझ धेरै छ भन्ने मलाई लाग्छ ।

 

५. त्यो संसदको अभिव्यक्तिमा मात्र होइन, अहिले पनि तपाईं प्रदेश सरकारले पत्रकारलाई किनेको छ भन्दै हिँड्दै हुनुहुन्छ रे भन्ने सुन्दैछु । केदारजी तपाईंको अभिव्यक्तिपछि मैले तपाईंको आम्दानीको स्रोत के हो ? केबाट राजनीतिक खर्च चल्छ भन्ने विषयमा आफुले चिनेका विराटनगरतिरका साथीहरुलाई सोधेँ । तर, कसैले पनि तपाईंको आम्दानीको स्रोत र लगानीको क्षेत्रबारे बताउन सक्नु भएन । म रेडियो भिजन भन्ने एफएमको सञ्चालक हुँ । आफुले गरेको कारोबारको कर यो लकडाउनको समयमा पनि राज्यको नीति अनुसारको तिरिसकेको छु । आफैं दुख गरेर कमाउँछु । कर योग्य आयको कर तिर्छु । विज्ञापन पहिलो उत्पादन हो । १३ प्रतिशत भ्याट बुझाउँछु । आफ्नो दैनिकी चलाउँछु । बचेको समयमा सामाजिक काममा पनि सहभागिता जनाउँछु । तपाईं प्रदेशसभामा सदस्य भएपछि तलब पाउनु भएको छ । स्रोत त्यो होला, त्योअघि के–केबाट आम्दानी गरेर राजनीति गर्ने पैसा कमाउनुभयो ? एक पटक बताइदिनु भए हुन्थ्यो । आफुले कुनै कुरा उठान गर्न र कुनै कुरा उठान नगर्न अदृष्य स्रोतबाट आम्दानी गरेको र त्यसैको सम्झनाले अहिले पत्रकारले त्यसै गर्छन् होला भन्ने लागेको भए कार्कीजी त्यो तपाईंको भ्रम हो । हाम्रो कारोबार अदृष्य होइन दृष्य छ, र गर्छौं । त्यसैले छाती खोलेर तपाईंको प्रतिबाद गर्न सक्षम छौं ।

 

६. पत्रकार किनेको प्रसंगमा अर्को कुरा मैले यहाँ स्मरण गराउनै पर्छ । मैले चलाएको रेडियो भिजनमा मिनेटको ४५० रुपैयाँमा विज्ञापन वजाउने गरेको छु । प्रदेश सरकारको कोरोना भाइरस संक्रमणबाट बच्ने सचेतना सम्बन्धि सुचना रेडियो भिजनमा २० रुपैयाँ प्रतिमिनेटको हिसावमा प्रशारण गरेको छ । त्यो सबै नागरिकलाई सचेत गराउने मिडियाको पनि दायित्व हो भनेर प्रशारण गरेका हौं । त्यसैले ३० हजार रुपैयाँको विज्ञापन प्राप्त हुँदा रेडियो भिजन बिक्री हुँदैन भन्ने केदारजीको चेत खुलोस् । डेढ करोड रुपैयाँ लगानी गरेर रेडियो भिजन हामीले खोलेका हौं । एक महिना खर्च मात्र चलाउन ५ लाख रुपैयाँभन्दा धेरैको विज्ञापन रेडियो भिजनलाई चाहिन्छ । र, कसैलाई स्वाभिमान विक्री गर्न र बन्दक राख्न लाखौं लगानी किन गर्नु पर्र्यो र ? तपाईंले जस्तै चारआना लगानी बिना पनि जीवन चल्ने नै थियो । तपाईंको चल्दा मेरो नचल्ने भन्ने हुन्थ्यो जस्तो लाग्दैन । त्यसैले आफ्नो अवस्था हेरेर होइन, समाज अध्ययन गरेर बोल्ने गरे जनप्रतिनिधि भन्ने विषयको मर्यादा रहन्थ्यो भन्ने मलाई लागेको छ । आगे आप कि मर्जी ।

 

७. कोरोना सम्वन्धि चेतना अभिबृद्धि गर्ने कि अन्य काम मात्र गर्ने भन्ने विषयमा पनि यहाँको मतसँग मेरो फरक मत छ । तपाईंले परिक्षणको दायरा बढाउने कुरा गर्नु भएको छ । त्यो कुरा पनि होला, परिक्षण भनेको अहिलेसम्म कोरोना भाइरस संक्रमण भयो कि भएको छैन भन्ने जान्ने कुरा मात्र हो भन्ने मलाई लागेको छ । पिसिआर परिक्षण गरेपछि कोरोना भाइरस सर्दैन भन्ने लाइसेन्स हो भन्ने मलाई लाग्दैन । परिक्षण गर्दाको समयसम्म कोरोना संक्रमण नभएको जानकारी मात्र हो परिक्षण । त्यसैले परिक्षण गर्ने भन्दा कोरोना भाइरस कसरी सर्छ र कसरी बच्न सकिन्छ भन्ने विषयमा सबै नागरिकलाई सचेत गराउनु अहिलेको प्रमुख आवश्यक्ता हो । त्यसैले प्रदेश सरकारले ३० करोड रुपैयाँ कोरोना जनसुरक्षा कोषमा जम्मा गरेको छ भने त्यसको ५० प्रतिशत अर्थात् १५ करोड रुपैयाँ नागरिकलाई सचेत बनाउने विषयमा खर्च गर्न आवश्यक छ । लागेको थाहा पाउँदा सचेत बन्ने काम त होला, तर रोग प्रतिरोधात्मक क्षमता परिक्षणले बढाउने होइन । त्यसैले रोग लाग्न नदिनका लागि गर्नु पर्ने काममा बढी ध्यान केन्द्रित गर्न आवश्यक छ ।

 

८. कोरोना अस्पताल बनाउने विषयमा पनि मेरो फरक मत छ । केही अस्पताल बनाए हुन्छ । तर, सबै नागरिकलाई भेण्डिलेटरमा राखेर उचार गर्नेगरीको लगानी सम्पन्न मुलुकले पनि गर्न सकेनन् । नेपालबाट त्यो सम्भव छैन । २०० जना संक्रमित हुँदा र समुदायमा नफैलँदाको यो अवस्था छ भने समुदायमा फैलँदाको अवस्था के होला ? सहजै अनुमान गर्न सकिन्छ । केदारजी मुलुकको दोस्रो ठुलो पार्टीको प्रदेश सभाको प्रमुख सचेतक हुनुहुन्छ, तपाईंलाई कोरोना भाइरस संक्रमण भयो भने अस्पतालको भेण्डिलेटर उपलब्ध होला । तर, मजस्तो सबै नागरिकका लागि महामारीका बेला भेण्डिलेटर उपलब्ध गराउन अमेरिका र बेलायत जस्ता मुलुकले सकेनन् भने केदारजी नै प्रधानमन्त्री भए पनि यो देशको बजेटले धान्दैन । त्यसैले कम संक्रमण हुने अवस्था बनाउन भनेको कोरोना भाइसरका बारे जनचेतना अभिबृद्धि गर्नु नै प्रमुख र एक मात्र विकल्प हो । त्यसैले मिडियाबाट सचेतना फैलाउने काममा तीनै तहका सरकारको पहिलो प्राथमिकता हुनुहुपर्छ भन्ने नै आजको आवश्यक्ता हो । राजंवशी, सन्थाल, राई, लिम्वु, मेचे, नेपाली, हिन्दी, अंग्रेजी लगायतका सबै भाषामा सुचना र सन्देश बनाएर सबैलाई सुनाउन र बुझाउन जरुरी छ । यो काम ज–जसले गर्नुभयो, सबैलाई धन्यवाद ।

 

९. अन्त्यमा, केदारजी मिडियाकर्मी खरिदविक्री हुने साधन होइनन् । यो समाज जस्तो छ, त्यसको विम्ब सबै पेशा, व्यवसाय र क्षेत्रमा देखिन्छ । कोही–कोही गलत होलान् । कुनै पनि क्षेत्रका सबै मान्छे गलत हुँदैनन् । तपाईं जस्तै सबै राजनीति गर्ने पेशा विहीन छैनन् । सबै पेशाकर्मीले राजनीति पनि गर्दैनन् । त्यसैले अर्कालाई औंला ठड्याउँदा आफुतिर फर्किएका औंलाको पनि उत्तर खोजौं । कर तिरेर व्यापार गर्नेहरु राज्य सञ्चालनका सहयोगी हुन्, आम्दानीको स्रोत नै नदेखिए पनि विलासी जीवन विताउनेहरु राज्यका दुस्मन हुन् । आजलाई यत्ति नै । शेष फेरि ।

 

गणेश पोखरेल
विर्तामोड, झापा ।

Share.

Leave A Reply