किन बन्छन् कमजाेर फिल्म ?

0

विर्तामाेड, ६ असार ।

नेपालमा अधिकांश सिनेमा कमजोर किन बन्छन् ? यसमा धेरैका धेरैथरी जवाफ होलान् तर एउटा प्रमुख कारण– नातावाद, कृपावाद र गुटबन्दी पनि हो । यस्तो किन पनि हो भने ति अधिकांश फिल्ममा प्रमुख कलाकारहरुको छनौट कथामा आवश्यक पात्रअनुसार गरिँदैन, बरु आफ्ना नजिकका साथी, आफन्त, छोराछोरी या भाइभतिजालाई अवसर दिने स्वार्थले गरिन्छ । फिल्म निर्माणको महत्वपुर्ण पाटो कलाकार छनौटमै यस्तो गलत स्वार्थ हावी भएपछि त्यो फिल्म राम्रो बन्ने चान्स नै भएन ।

अर्को कुरा, स्टार किडसँग काम गरेका धेरै प्रतिभावान सहायक कलाकारहरु हामीकहाँ जर्बजस्ती छायाँमा पारिने गरेका छन्, उनीहरुको सिन सम्झौता गरेभन्दा धेरै छोटिने गरेको छ । ति कलाकारहरुलाई गएर भेट्नुस, महसुस गर्ने प्रयत्न गर्नुस्, आज पनि हामीकहाँ नातावादका कारण उनीहरुलाई फिल्ममा स्टार किडभन्दा बलियो देखिन नदिनका लागि गरिएका प्रयत्नका प्रशस्तै उदाहरण छन् ।
हामीकहाँ फिल्म र म्यूजिक भिडियोहरुमा यस्ता धेरै उदाहरण छन्, जहाँ आफ्ना सन्तान, नातेदार या साथीहरुलाई उनीहरु त्यसका लागि योग्य नहुँदा नहुँदै पनि अवसर प्रदान गरिएका छन् ।
र, यहाँ केही पनि ‘इज्म’ छैन भन्नेहरुलाई मेरो प्रश्न- यी सब नातावाद, कृपावाद र पक्षपात नभए के ?

हो, फिल्म परिवारका हकमा हामीकहाँ बलिउडजस्तो व्याप्त नातावाद छैन । किनभने त्यहाँ नातावादको चरण चौथो पुस्तासम्म पुगिसकेको छ, हामीकहाँ भर्खर पहिलो पुस्ता धमाधम देखापर्दैछन् । तर, हामीले आवाज उठाएनौँ भने बलिउडकै जस्तो समस्या यहाँ देखापर्न समय लाग्ने छैन् ।

अन्त्यमा, जो हिजो संघर्ष गरेर, जान/अन्जानमै थुप्रैपल्ट नातावाद–कृपावादको चपेटा पार गर्दै आज सफलताको विन्दुमा आइपुगेका छन्, तिनै कलाकारहरुले आज यहाँ नातावाद-समुहवाद छैन भन्दा मलाईचाँही कुनै नौलो लागेको छैन । किनभने म प्रष्ट छु, आज उनीहरुको वर्गोत्थान भएको छ । भुईंमान्छेका लागि अर्थात् भुईमान्छे जसरी सोच्न उनीहरुले उहिल्यै छाडिसके । त्यसैले त उनीहरु फिल्म पनि पैसा कमाउने ध्याउन्नमामात्रै बनाइरहेका छन्, खेलिरहेका छन् ।
यद्यपी म भन्छु, नातावादलाई बढावा दिने परिस्थितीको सिजर्ना नगरौँ, यसले प्रतिभालाई त मार्छ–मार्छ, सँगसँगै एउटा फिल्मलाई राम्रो बन्ने अवसरबाट पनि वञ्चित गराउँछ ।
पत्रकार अनिल यादवकाे फेसबुकबाट ।

Share.

Leave A Reply