एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्बाङ्ग र अध्यक्ष शेर्पाबीचको विवाद प्रदेश अध्यक्ष किशोर राईले मिलाउने

0

विर्तामोड, ८ असार ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्बाङ्ग र सदस्य दावा लामालाई दिएको जिम्मेवारीबाट मुक्त गर्ने अध्यक्ष कर्माछिरिङ शेर्पाको निर्णयमा प्रदेश नम्बर १ ले गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।
एन्फा आबद्ध प्रदेश फुटबल संघको आज बसेको कार्यसमिति बैठकले वरिष्ठ उपाध्यक्षलाई पदपूर्ति समिति र जिल्ला समन्वय समितिको संयोजक र लामालाई फुटसल कमिटीको संयोजकबाट हटाउने अध्यक्ष शेर्पाको निर्णयप्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएको हो ।
नेतृत्वसंग निरन्तर फरक मत राख्दै आएको र आफुलाई असहयोग गरेको भन्दै एन्फा अध्यक्ष शेर्पाले वरिष्ठ उपाध्यक्ष नेम्बाङ्गलाई पदपूर्ति समिति र जिल्ला समन्वय समितिको नेतृत्वबाट हटाउँदै उपाध्यक्षद्वय शिक्षित पराजुली र वीरबहादुर खड्कालाई जिम्मेवारी दिनु भएको थियो । नेम्बाङ्गको पक्षमा देखिदै आएका दावालाई समेत फुटसल कमिटीको संयोजकबाट हटाउँदै रत्नकुमार श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।
एन्फा अध्यक्ष र वरिष्ठ उपाध्यक्षबीच सम्बन्धमा ठुलो असमझदारी उत्पन्न भएको भन्दै प्रदेश नम्बर १ ले बैठक आह्वान गर्दै विवाद मिलाउन पहल गर्ने निर्णय गरेको हो ।
प्रादेशिक फुटबल संघका अध्यक्ष किशोर राईले कार्यसमितिमा छलफल नै नगरी वरिष्ठ उपाध्यक्ष र सदस्यलाई जिम्मेवारीबाट हटाउने निर्णयले फुटबललाई बिनाशतर्फ लाने दाबी गर्नुभयो । ‘एन्फामा चरण चरणमा देखिएको विवादले एकता बिगार्ने भन्दै यसकोे दिगो समाधानका लागि पहल गर्ने निर्णय भएको छ’, उहाँले भन्नुभयो, ‘दुवै जनालाई जिम्मेवारीबाट मुक्त गर्ने निर्णयले फुटबललाई बिनाशको बाटोतर्फ लाने भएकाले यसलाई अगाडि बढ्न दिनु हुदैन भन्ने बैठकको जोड छ ।’
बैठकले वरिष्ठ उपाध्यक्ष नेम्बाङ्ग र एन्फा अध्यक्ष शेर्पाबीच देखिएको विवाद समाधानका लागि पहल गर्न मानार्थ वरिष्ठ उपाध्यक्ष समेत रहेका प्रदेश कमिटी अध्यक्ष राईको नेतृत्वमा समिति गठन गरेको छ ।
यस्तै, बैठकले एन्फामा निर्णय गर्दा सहमति र सहकार्यबाट गर्नुपर्नेमा जोड दिँदै अध्यक्षसंग बसेर विवाद समाधानका लागि सहमतिको प्रयास गर्ने निर्णय समेत गरेको छ ।
बैठकले प्रदेशमा हुने जिल्ला र स्कुल लिगमा लाईसेन्स बिनाको प्रशिक्षक राख्न नपाउने निर्णय गर्दै प्रशिक्षण नियुक्तिका लागि जिल्लालाई आह्वान गर्न आग्रह समेत गरेको छ ।
यस्तै, प्रदेश अन्तरगत हुने जिल्ला लिगलाई भदौको तेस्रो साताबाट सुरु गर्ने बैठकले निर्णय गरेको छ । ००००००

Share.

Leave A Reply