क्रान्तिकारी नेता चे ग्वेभाराको जन्मस्थान बेचिदैँ

0

विर्तामोड, १३ असार ।

२०औं शताब्दीका वामपन्थी क्रान्तिकारी नेता अर्नेस्टो चे ग्वेभाराको जन्मस्थान बेच्न लागिएको छ । अर्जेन्टीनाको रोजारियो शहरस्थित २५८० स्क्वायर फुट क्षेत्रफलमा फैलिएको ग्वेभाराको घर सन २००२ मा फ्रान्सिस्को फर्रुग्गियाले खरिद गरेका थिए । ग्वेभाराको घरलाई सांस्कृतिक केन्द्रको रुपमा बदल्न चाहेपनि फर्रुग्गियाले यो योजना कार्यान्वयन गर्न सकेका थिएनन् ।

ग्वेभाराको घर कति मूल्यमा बेचिँदैछ भन्नेबारे उनले कुनै जानकारी दिएका छैनन् । क्रान्तिकारी नेता ग्वेभाराको जन्मघर हेर्न हरेक वर्ष लाखौं मानिसहरु रोजारियो आउने गर्छन ।

ग्वेभाराको जन्म सन् १९२८ मा अर्जेन्टीनाको रोजारियोमा भएको थियो । सम्पन्न परिवारमा जन्मिएका ग्वेभाराले दक्षिण अमेरिकामा क्रान्तिको बाटो समाएका थिए ।

क्युबाली क्रान्तिमा अहम भूमिका ग्वेभाराले त्यहाँको बाटिस्टा तानाशाहीतन्त्र अन्त्य गरिदिएका थिए । क्युबामा राजनीतिक क्रान्ति सम्पन्न भएपछि ग्वेभाराले पूरै दक्षिण अमेरिका र विकासशील देशसम्म क्रान्ति विस्तार गर्ने योजना बनाएका थिए । क्रान्तिका लागि बोलिभियामा रहेका बेला सन् १९६७ अक्टोबर ९ तारिखमा ग्वेभाराको हत्या भएको थियो ।

अमेरिकी खुफिया संस्था र बोलिभियाको सेनाले उनको पार्थिव शरीरलाई अज्ञात स्थानमा गाडिदिएको थियो ग्वेभाराको हत्या भएको ३० वर्षपछि बल्ल उनको अन्तिम अवशेष क्युबा ल्याइएको थियो ।०००००

Share.

Leave A Reply