प्रदेश – १ मा २१ प्रतिशत, झापामा ५ प्रतिशत धान रोपाइँ

0

विर्तामोड, १५ असार ।

ललितपुर स्थित नेपाल कृषि अनुसन्धान परिषद बाली विज्ञान महाशाखा खुमलटार फार्म परिसरमा १७ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सवको दिन धान रोप्न व्यस्त रोपाहार ।

मनसुनको सक्रियतासँगै प्रदेश नं– १ मा २१ प्रतिशत धान रोपाइँ भएको कृषि निर्देशनालय विराटनगरले जनाएको छ । “मौसम अनुकूल छ, वर्षा भइरहेको छ, किसानको खेत र बीउ तयार अवस्थामा रहेकोले एक साताभित्रै रोपाइँको प्रतिशत उल्लेखीय वृद्धि हुनेछ”, निर्देशनालयका निमित्त निर्देशक प्रकाश डाँगीले भन्नुभयो । प्रदेश १ मा अहिलेसम्म ३७ प्रतिशत मात्र सिँचाइ सुविधा पुगेको छ । सिँचाइ सुविधा नभएका क्षेत्रका किसानले कुलोपैनी, वर्षा, बोरिङको भरमा खेती गर्ने गरेका छन् ।
प्रदेश १ मा तीन लाख ४० हजार ८२९ हेक्टर धान लगाउने क्षेत्रफलमा गत वर्ष एक लाख ९३ हजार ३९८ हेक्टरमा धान लगाइएको थियो । समग्रमा गएको वर्षमा प्रदेश १ मा ५६ दशमलव ७४ प्रतिशत रोपाइँ भएको थियो । वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिम्सिनाले मनसुनको सक्रियता बढ्दा किसानको अनुहार हसिलो हुने र रोपाइँ पनि समयमै गर्न सकिने भएकोले उत्पादनमा पनि वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै, धान खेतीका लागि उर्बर भूमि मानिने झापामा असार १५ गते सम्ममा पाँच प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । समयमै बर्षात् सुरु भए पनि किसानले ढिलो बिउ राखेका कारण हालसम्ममा पाँच प्रतिशत मात्र रोपाइँ भएको हो ।
केन्द्रका प्रमुख निलकमल सिंहले भन्नुभयो, ‘‘किसानले ढिलो बिउ राखेको कारण रोपाइँमा ढिलो भयो ।’’ असार १५ गतेदेखि साउन पहिलो हप्तासम्ममा जिल्लामा रोपाइँ सकिने उहाँले दाबी गर्नु भएको छ । झापामा यस वर्ष ८७ हजार ५०० हेक्टर क्षेत्रफलमा गरिने धान खेतीमध्ये चार हजार ३७५ हेक्टर जमिनमा मात्र धान रोपाइँ भएको छ । प्रमुख सिंहले झापामा ८० प्रतिशत खेती आकासेपानीको भरमा हुने बताउनुभयो ।
झापामा नियमित सिँचाइका लागि कनकाई, निन्दा, टाङटिङ, पालिया, खुदुनाबारी, सिद्धिनहर, भुतेनी खोला लगायतका सिँचाइ आयोजना छन् । ०००००

Share.

Leave A Reply