नेकपा (एमाले) नामको दल दर्ता गर्न निर्वाचन आयोगमा झापाकी सन्ध्या तिवारीको निवेदन

0

विर्तामोड, १६ असार ।

नेकपा स्थायी कमिटी बैठक बसिरहेका बेला निर्वाचन आयोगमा नेकपा (एमाले) नामको दल दर्ता गर्न कसको निर्देशनमा निवेदन दर्ता भयो ? बैठकको एजेण्डा नै विषयान्तर हुने गरी यो प्रश्नले आजको बैठक प्रभावित भयो ।
बालुवाटारमा जारी बैठकमा उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा नेकपा एमाले ब्युँताउने निवेदन दर्ता भएको बैठकमा आरोप लगाउनुभयो ।

 

झापा ठेगाना भएकी सन्ध्या तिवारीले नेकपा एमाले दर्ताको निवेदन लिएर निर्वाचन आयोगमा गएको आयोगले पुष्टि गरेको छ । तर, यो नामकी कार्यकर्ता नेकपा झापामा नरहेको पार्टी जिल्ला कार्यालय सचिव शिव ढुङ्गेलले जानकारी दिनुभयो ।

एक स्थायी कमिटी सदस्यका अनुसार गौतमले प्रधानमन्त्रीकै निर्देशनमा एमाले ब्युँताउन खोजिएको प्रमाण आफूसँग रहेको दाबी गर्नुभयो ।
बैठकमा गौतमको भनाइ थियो, ‘एमालेको नाममा दल दर्ता गर्नेमा प्रधानमन्त्री कमरेडको निर्देशन छ । यसमा म विश्वस्त छु र अहिले यस्तो काम गर्ने बेला होइन । अहिले पार्टीलाई पद्दतिसम्मत र सरकारलाई लोकप्रिय बनाउने हो । यी दुवै काममा प्रधानमन्त्री चुक्नुभयो ।’
बैठकमा अध्यक्ष प्रचण्डले पनि प्रधानमन्त्रीनिकट कानुन व्यवसायीले नेकपा एमाले ब्युँताउने निवेदन तयार पारेको सूचना आफूले पाएको बताउनु भएको थियो ।
बैठक चलिरहेका बेला एमाले दल दर्ताको निवेदन कसको निर्देशनमा निर्वाचन आयोगमा गएको हो भनेर प्रचण्डले नै सुरुमा प्रश्न गर्नु भएको थियो ।
प्रधानमन्त्री ओलीले भने दल दर्ताको निवेदनबारे आफूलाई कुनै जानकारी नरहेको भन्दै आफू नेकपाको अध्यक्ष रहेको बताउनुभयो । ‘गोपाल किराँतीको नाममा पनि माओवादी केन्द्र दर्ता छ, मैले केही भनेको छु र ? प्रचण्डतिर संकेत गर्दै अध्यक्ष ओलीले बैठकमा जवाफ दिनुभएको थियो ।
झापा ठेगाना भएकी सन्ध्या तिवारीले नेकपा एमाले दर्ताको निवेदन लिएर निर्वाचन आयोगमा गएको आयोगले पुष्टि गरेको छ । तर, यो नामकी कार्यकर्ता नेकपा झापामा नरहेको पार्टी जिल्ला कार्यालय सचिव शिव ढुङ्गेलले जानकारी दिनुभयो । ०००००

Share.

Leave A Reply