फाट्टफुट्ट सार्वजनिक गाडी चल्न थाले

0

विर्तामोड, २६ असार ।

सरकारले सम्बन्धित जिल्ला भित्र सार्वजनिक गाडी चलाउने निर्णय गरे पनि यातायात व्यवसायी र यात्रु अझै अन्योलमा छन् ।
सरकारले एकपक्षीय निर्णय गरेको र अहिले नै गाडी चलाउने अवस्था नरहेको व्यवसायीको भनाइ छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले गाडी कहिलेदेखि चलाउने भन्नेबारे आज बैठक गरेर निर्णय गर्ने जानकारी दिनुभयो ।
साढे तीन महिनासम्म ग्यारेजमा राखिएका गाडी अहिले नै चलाउन सक्ने अवस्थामा नरहेको र स्वास्थ्य सम्बन्धी मापदण्डबारे पनि स्पष्ट नभएको उहाँको भनाइ छ ।
तर, सरकारले निर्णय गरे लगत्तै फाट्टफुट्ट सार्वजनिक गाडी भने चल्न थालेका छन् । काठमाण्डौ सहित केही जिल्लामा फाट्टफुट्ट गाडी चल्न थालेका ट्राफिक प्रहरीले जनाएको छ । ट्याक्सी भने पहिलेदेखि नै चल्न थालेका थिए ।
सरकारले काठमाण्डौ, ललितपुर र भक्तपुरभित्र तथा बाहिरका जिल्लामा सम्बन्धित जिल्लाभित्र मात्र चल्न पाउने गरी सार्वजनिक गाडी सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
सरकारले सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दूरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । अब कुल संख्याको आधा मात्र सिटमा यात्रु राखेर बस सञ्चालन गर्न पाइने भएको छ । ट्याक्सी बाहेक सार्वजनिक यातायातमा ५० प्रतिशतसम्म भाडा वृद्धि हुने भएको छ ।
सार्वजनिक यातायात सञ्चालन गर्दा चालक र सहचालकले मास्क र पन्जा अनिवार्य लगाउनुपर्ने नियम छ । ढोका र गाडीभित्र स्यानिटाइजर राख्नुपर्नेछ भने यात्रुले पनि मास्क अनिवार्य लगाउनु पर्ने नियम बनाइएको छ ।
सार्वजनिक यातायात सञ्चालन गर्दा भौतिक दूरी कायम गर्न सिटको एउटा पंक्तिमा एक जना मात्र राख्नु पर्नेछ । यस्तै एक दिनमा कम्तीमा एकपटक अनिवार्य रूपमा यातायातका साधनलाई संक्रमणमुक्त पनि गर्नुपर्नेछ । ट्याक्सीमा चालकबाहेक दुई जनासम्म मात्र यात्रु राख्न पाइने सरकारले जनाएको छ । ००००००

Share.

Leave A Reply