नारायणी नदीले कटान गरेको क्षेत्रको नेकपाका अध्यक्ष प्रचण्डद्वारा निरीक्षण

0

विर्तामोड, २७ असार ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” नारायणीले कटान गरेको क्षेत्रको शनिबार निरीक्षण गर्नहुँदै । नारायण अधिकारी/रासस

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नारायणी नदीको कटान रोक्नका लागि आवश्यक काम भइरहेकाले डर मान्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर २७ र २८ को सीमा क्षेत्र न्यूरेचोकमा नारायणीले कटान गरेको क्षेत्रको आज निरीक्षण गर्नुहुँदै उहाँले तत्कालका लागि अस्थायी समाधानको काम नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले गरिरहेको बताउनुभयो ।
यस क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित सांसदसमेत रहनुभएका दाहालले प्रधानमन्त्रीसँगको आजको संवादलाई छाडेर आफू निरीक्षणमा आएको बताउनुभयो । पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्रीसँग परामर्श गरेर आफू निरीक्षणमा आएको अध्यक्ष दाहालले जानकारी दिनुभयो ।
दाहालले आफू निर्वाचित भएदेखि नै राप्ती र नारायणीमा तटबन्धसहितको चक्रपथ अघि बढाएको बताउनुभयो । विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्याङ्कन कार्य भइसकेको र बजेटका लागि अर्थ मन्त्रालयमा कुरा भईरहेको दाहालले जानकारी दिनुभयो । उहाँले सरकार सकारात्मक रहेकाले सो काम सम्पन्न हुने विश्वास दिलाउनुभयो ।
पानी परेपछि शुक्रबारबाट त्यस क्षेत्रमा नारायणीले कटान गर्न सुरु गरेको हो । दाहाललाई यस क्षेत्रका प्रदेश सभा सदस्य कृष्ण भुर्तेल र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नदी कटानका बारेमा जानकारी गराउनुभएको थियो । दाहालले आज नै माडी नगरपालिकाको बाढी प्रभावित विभिन्न क्षेत्रको पनि निरीक्षण गर्नु भएको छ । ००००००

Share.

Leave A Reply