विदेशी विद्यार्थी कानूनी रुपमा अमेरिकामै रहेर अनलाइनबाट पनि कक्षा लिन सक्ने

0

विर्तामोड, ३१ असार ।

विदेशी विद्यार्थीलाई डिपोर्ट सम्बन्धित देश फिर्ता पठाउने योजनाबाट अमेरिका पछि हटेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले पूर्ण रुपमा अनलाइन कक्षा रहेका विदेशी विद्यार्थी अमेरिका बस्न नपाउने नियम हालै ल्याएको थियो ।
त्यसको चौतर्फी आलोचना भएपछि ट्रम्प प्रशासन त्यसबाट पछि हट्न बाध्य भएको हो । सरकारको सो निर्णय विरुद्ध हार्वर्ड विश्वविद्यालय र मासाचुसेट्स इन्स्टिच्युड अफ टेक्नोलोजी (एमआइटी) ले अदालतमा मुद्दा दायर गरेका थिए ।
कोरोना भाइरसको महामारीका कारण कक्षा अनलाइनमा गएका विश्वविद्यालय तथा शैक्षिक संस्थाका विदेशी विद्यार्थीहरुले आफ्नै देशमा फर्किनु पर्ने नियम घोषणा गरेको एक हप्तामै ट्रम्प प्रशासनले सो फिर्ता लिएको हो ।
हार्वर्ड र एमआइटीले दायर गरेको मुद्दा पनि सहमतिमा टुंगिएको मासाचुसेट्सका जिल्ला न्यायाधीश एलिसन बुरोजले बताएकी छन् । सहमति अनुसार गएको मार्चमै लागु भएको नियम कार्यान्वयन हुनेछ । जस अनुसार विदेशी विद्यार्थी कानूनी रुपमा अमेरिकामै रहेर अनलाइनबाट पनि कक्षा लिन सक्ने द न्यूयोर्क टाइम्सले जनाएको छ ।
अमेरिकाको इमिग्रेसन एण्ड कस्टम्स इनफोर्समेन्ट (आइसिइ) ले गएको हप्ता पठन–पाठन पूर्ण रुपमा अनलाईन गरेका विश्वविद्यालयमा अध्ययनरत विदेशी विद्यार्थी यो शरद ऋतुमा अमेरिका बस्न नपाउने नीति सार्वजनिक गरेको थियो ।
सो नियम अनुसार आफ्नो कोर्सलाई ‘इन–पर्सन ट्यूसन’ अर्थात प्रत्यक्ष अध्यापन गर्नु पर्नेमा परिमार्जन नगरेको विदेशी विद्यार्थीहरु अमेरिका बस्न पाउने थिएनन् ।
नियम नमान्ने व्यक्ति डिर्पोट हुने आइसिइले बताएको थियो । तर, अब भने सो नियम लागु नहुने भएको छ ।
कोरोना भाइरसको महामारीका कारण अमेरिकाका धेरै विश्वविद्यालयलहरुले अहिले कक्षा पूर्ण रुपमा अनलाईन बनाएका छन् । हार्वर्ड विश्वविद्यालयले नयाँ शैक्षिक सत्रका सबै कक्षाहरु अनलाईन मार्फत सञ्चालन गर्ने यसअघि नै जनाइसकेको छ ।
अमेरिकी विश्वविद्यालयलमा अध्ययन गर्नका लागि बर्सेनि ठूलो संख्यामा विदेशी विद्यार्थीहरु जाने गर्छन् । अमेरिकी विश्वविद्यालयहरुका लागि विदेशी विद्यार्थी आयको प्रमुख स्रोत पनि हुन् । ००००००

Share.

Leave A Reply