भद्रपुरमा क्वारेन्टाइन चेकजाँच विना नै भारतबाट सामान बोकेका गाडी आउँदै

0

विर्तामोड, ३१ असार ।

झापाको भद्रपुर नाकाबाट क्वारेन्टाइन चेकजाँच र चालकको स्वास्थ्य परीक्षण नै नगरी भारतबाट नेपालतर्फ धमाधम सामान बोकेका गाडी आउन थालेका छन् ।
भारतबाट आउने सवारी साधनलाई स्यानिटाइज गर्ने उपकरण जडान नगर्दा भद्रपुर नाकाबाट कोरोना भाइरसको संक्रमण फैलिने र भित्रिने जोखिम बढेको छ । सीमा नाकाबाट आवतजावतमा रोक लगाएको सरकारले भन्सार आयात–निर्यात खुलाएसँगै भद्रपुर भन्सार कार्यालयमा दिनहुँ भारतीय नम्बर प्लेटको गाडीमा सरसामान भित्रिरहेको छ । तर, भारतको संक्रमित क्षेत्रबाट आउने सवारीसाधन र सरसामानलाई स्यानिटाइज गर्ने र चालकसहित गाडीमा आउने मजदुरको पनि स्वास्थ्य परीक्षण गर्ने काम भएको छैन ।
नेपालतर्फका प्रहरी, प्रशासन र भन्सार कर्मचारीले समेत भारतकै भर परेका छन् । भारतको पश्चिम बङ्गालस्थित सिलगुडी र विहारबाट अहिले सरसामान आइरहेको छ । ती दुवै राज्यमा कोरोना संक्रमण समुदायमा फैलिसकेको छ । त्यहीबाट सरसामान लोड भएर आउने गरेको व्यापारीहरूले बताएका छन् । भारतको विहारस्थित गलगलिया नाकामा त्यहाँका स्वास्थ्यकर्मीले चेक जाँच गरेकै आधारमा सीमामा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीले भारतीय सवारीसाधन नेपाल प्रवेश गर्न दिइरहेका छन् । स्थानीयले महामारीका बेला सुरक्षा निकायले गरेको बेवास्ताले नेपालमा संक्रमण थप फैलनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । ०००००००

Share.

Leave A Reply