राखेप सदस्य सचिव सिलवालको नियुक्ति विशिष्ठ श्रेणीको सचिव सरह

0

विर्तामोड, १६ साउन ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवको जिम्मेवारी पाएका रमेशकुमार सिलवाललाई सरकारले विशिष्ठ श्रेणीको सचिव सरहको नियुक्ति दिएको छ । युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको सिफारिस समितिले प्रस्ताव गरे अनुसार नै सदस्य सचिवमा सिलवाललाई राजपत्राकिंत विशिष्ठ श्रेणीको नियुक्ति सरकारले दिएको हो ।
उहाँले सरकारको विशिष्ठ श्रेणीको सचिव सरहको पारिश्रमिक तथा सेवा सुविधा राखेपमा रहँदा प्राप्त गर्नु हुनेछ ।
गत सोमबार बसेको मन्त्रीपरिषद् बैठकले रमेशकुमार सिलवाललाई चार बर्षका लागि राखेपको सदस्य सचिवमा नियुक्त गरेको थियो । गत बुधबार युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सदस्य सचिव सिलवाललाई नियुक्तिको पत्र दिनु भएको थियो ।
यसअघि युवा तथा खेलकुद मन्त्रालयका विभागीय मन्त्रीले सदस्य सचिवलाई नियुक्ति पत्र दिने चलन थियो । सदस्य सचिवको शपथ भने परिषद्को अध्यक्षको हैसियतमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले गराउनु भएको थियो ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ मा समेत सदस्य सचिवको नियुक्तिको हैसियत प्रष्ट छैन । यसअघिका सदस्य सचिवले उप–सचिवदेखि राज्यमन्त्री सरहको नियुक्ति बुझेर सदस्य सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
सदस्य सचिवको पदीय हैसियत प्रष्ट नहुदाँ खेलकुदका औपचारिक कार्यक्रममा मन्त्रालयका सचिव तथा सह–सचिवसंग परिषद्का सदस्य सचिवको बेमेल बेला मौकामा देखिदै आएको थियो ।
नयाँ ऐन कार्यान्वयनमा आएसंगै मन्त्रालयले सचिव स्तरको विशिष्ठ श्रेणीको नियुक्ति प्रस्ताव गरेको थियो । मन्त्रालयको सिफारिस अनुसार नै मन्त्रीपरिषद्को बैठकले समेत स्वीकृत गरिदिएको छ ।
सदस्य सचिव सिलवालले सरकारको सचिव सरहको विशिष्ठ श्रेणीको पारिश्रमिक तथा सेवा सुविधा प्राप्त गर्ने बताइएको छ । ०००००

Share.

Leave A Reply