कांग्रेसका सभापति देउवाद्वारा वसन्तपुर पुगेर ‘इनफ इज इनफ’ अभियानका सत्याग्रहीसँग भेटघाट

0

विर्तामोड, १७ साउन ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले वसन्तपुर पुगेर ‘इनफ इज इनफ’ अभियानका सत्याग्रही ईःलाई भेट्नु भएको छ । देउवाले सत्याग्रही युवाहरुको अभियानमा कांग्रेसको तर्फबाट ऐक्यबद्धता समेत जनाउनु भएको छ ।
आज दिउँसो वसन्तपुरमा पुग्नु भएका देउवाले अभियानले राखेको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ । देउवाले युवाहरुले अघिल्लो पटक गरेको अनशनका बेला सरकारले गरेको सम्झौतालाई पूरा गरी सम्पूर्ण नेपाली नागरिकको जीवन रक्षा गर्नुपर्ने बताउनुभयो ।
पत्रकारहरुसँग छोटो प्रतिक्रिया दिँदै सभापति देउवाले सरकारले तत्काल आफ्नो प्रतिनिधि पठाएर युवाहरुको माग पुरा गर्नेगरी समझादारी गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीको ऐक्यबद्धता छ । उहाँहरुको मागलाई समर्थन छ । मान्छेलाई मर्न दिनु हुन्न । ओली सरकारले तुरुन्तै मान्छे पठाएर कुरा गरेर अनसनमा बसेका युवालाई बचाउनुपर्छ । सरकारले शान्तिपूर्ण आन्दोलनकारी माथि धरपकड गरिरहेको छ । यसको घोर भत्र्सना गर्छु ।’
यस्तै, कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले विगत १५ दिनदेखि अनसनमा रहेका युवाहरुले उठाउँदै आएका मागहरु देश र जनताको हितमा रहेको बताउनु भएको छ । सरकारले आफ्ना प्रतिनिधि पठाएर युवाहरुले उठाएका मागहरु पुरा गर्नुपर्ने बताउनुभयो ।
सतप्रतिशत पीसीआर परीक्षण हुनुपर्ने, क्वारेन्टाइनको अवस्था सुधार गर्नुपर्ने लगायतका माग राख्दै आएका अभियन्ताहरुसँग सरकारले असार २३ गते लिखित प्रतिबद्धता जनाएको थियो । कोरोनाविरुद्धको लडाईंमा भएको खर्च सम्बन्धी विवरण सार्वजनिकीकरणका लागि अर्थ मन्त्रालय, श्रमिकका सम्बन्धमा श्रम मन्त्रालय र अन्य विषयमा गृह मन्त्रालयलाई एक हप्ताभित्र लेखेर पठाउने पनि उल्लेख थियो ।
अभियन्ता ईः कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि प्रभावकारी कदम चाल्नु पर्ने, पीसीआर परीक्षण बढाउनु पर्ने, पूर्वसहमति कार्यान्वयन हुनुपर्ने लगायत माग राखी सत्याग्रह बस्नु भएको हो । ००००००

Share.

Leave A Reply