अर्जुनधारा नगरपालिका क्षेत्र आजदेखि ५ दिनका लागि लकडाउन

0

विर्तामोड, १८ साउन ।

अर्जुनधारा नगरपालिकाले आजदेखि ५ दिनका लागि नगर क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको छ । नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी)को आकस्मिक बैठकले आज बिहान ५ बजेदेखि २२ गतेसम्म लकडाउन गरेको हो । नगरपालिकाको सभाकक्षमा बसेको बैठकले नगरमा कन्ट्याक ट्रेसिङ गर्न सहज होस् भन्नका लागि उक्त निर्णय गरेको हो ।
अर्जुनधारा नगर क्षेत्रमा पनि समुदायमा कोरोना भाइरस संक्रमित फेला परिसकेकाले थप समुदायस्तरमा फैलनसक्ने सम्भावना रहेको भन्दै उक्त निर्णय गरिएको नगर प्रमुख हरिकुमार रानाले बताउनुभयो । बिहीबार मात्र अर्जुनधारा वडा नम्बर १ का एक व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि नगरपालिकाले यो कदम चालेको हो ।
उहाँका अनुसार लकडाउन अवधिभर निजी तथा भाडाका गाडी, मोटरसाइकलसमेत पूर्णरुपमा बन्द गर्ने निर्णय भएको छ । तर, सरकारी, बैंक, वित्तीय संस्था लगायतका कार्यालय खुल्नेछन् भने त्यहाँ कार्यरत कर्मचारीले भने संस्थाको परिचयपत्र लगाएर मोटरसाइकल सञ्चालन गर्न पाउने मापदण्ड बनाइएको छ ।
मोटरसाइकल सञ्चालनको अनुमति पाएका व्यक्तिले अन्य व्यक्तिलाई चढाउन भने पाउने छैनन् । संघसंस्था तथा वित्तीय कार्यालयमा कार्यरत कर्मचारीले अनिवार्यरुपमा मास्क प्रयोग गरी भौतिक दूरी कायम गर्नुपर्ने मापदण्ड तय गरिएको छ ।
यस्तै, नगरपालिका र वडा कार्यालय खुला रहे पनि साविकमा दिइँदै आएका सिफारिस लगायतका सेवाहरु बन्द रहने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले जानकारी दिनुभयो ।
बिरामी भएको अवस्थामा सम्बन्धित वडा अध्यक्षको सिफारिसमा उपचारका लागि सवारी साधन प्रयोग गर्न पाइने उहाँले बताउनुभयो । ०००००

Share.

Leave A Reply