विर्तामोड नगर क्षेत्र अनिश्चितकालिन र अर्जुनधारा नगर क्षेत्र साउन २२ गतेसम्मलाई लकडाउन, कोरोना संक्रमणको त्रास

0

विर्तामोड, १८ साउन ।

झापाको विर्तामोड नगरपालिकाले नगरपालिका क्षेत्र भित्र अनिश्चितकालिन लकडाउन गर्ने निर्णय गरेको छ ।
आज राति १२ बजेदेखि लकडाउन गरिने नगरपालिका कार्यालयले जनाएको छ । कोरोना भाइरस कोभिड–१९ को संक्रमण समुदाय स्तरमा फैलिदै गएको भन्दै नगर क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले जानकारी दिनुभयो ।
बिर्तामोडमा समेत कोरोना संक्रमणको जोखिम बढेपछि लकडाउन गर्ने निर्णय गरेको बताइएको छ । स्वास्थ्य क्षेत्र बाहेकका सबै उद्योग व्यवसायहरु पूर्ण बन्द गर्ने, लामोदुरीका सवारीलाई भने बिर्तामोडमा रोक्न नदिई सिधै गन्तव्य तर्फ जान दिने निर्णय भएको छ । त्यसैगरी अति आवश्यक खाद्यान्न लगायतका ढुवानी गर्ने साधनलाई चल्न दिइने भएको छ त्यसमा स्वास्थ्य सुरक्षालाई उच्चतम ध्यान दिनु पर्ने नगर प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
आज नगरपालिकामा भएको सर्वपक्षीय बैठकमा जनप्रतिनिधि, प्रदेश सभाका सांसद, नागरिक समाज, उद्योग बाणिज्य क्षेत्रका प्रतिनिधि, सुरक्षा निकाय, बैंकर्स, रेडक्रस लगायतका संघ–संस्थाका प्रतिनिधिको सहभागिता रहेको प्रवक्ता पाण्डेले बताउनुभयो ।
बिर्तामोडमा संक्रमितसँगको ट्रेसिङ, टेस्टिङ गर्न अर्को सूूचना प्रकाशित नहुन्जेलका लागि लकडाउन हुने बताइएको छ । यस्तै, निजी तथा सार्वजानिक सवारी साधनलाई नगर क्षेत्रमा पूर्ण रुपमा निषेध गरिने बताइएको छ ।
यस्तै, विहान ८ बजेदेखि ११ बजेसम्म भने खाद्यान्न, दुध, तरकारी लगायतका पसलहरु सञ्चालन गर्न दिइने जनाइएको छ । कसैले लकडाउनको उल्लंघन गरेमा कानुन अनुसार कारबाही गरिने बताइएको छ । झापामा पछिल्लो समय कोरोना भाइरसको संक्रमण समुदायमा फैल्न सक्ने भन्दै त्रास सिर्जना भएको छ ।
आजदेखि नै झापाको अर्जुनधारा नगरपालिकाले साउन २२ गतेसम्म लकडाउन गरेको छ । झापाको बाह्रदशी गाउँपालिकामा गरिएको लकडाउन भने कन्ट्याक्ट ट्रेसिङ र पिसिआर परिक्षणपछि खोलिएको छ ।
यता नेकपा जिल्ला कार्यालयबाट लगिएको स्वाबको पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । राजगढका पार्टी कार्यकतासँग सम्पर्क भएका जिल्ला कार्यालयमा रहने नेता कार्यकतालाई संक्रमण नसरेको पाइएको हो । ००००००

Share.

Leave A Reply