मेची अस्पतालमा पीसीआर ल्यावको उद्घाटन, ५ जनाको स्वाब परिक्षण गरेर भेरिफाइका लागि कोशी पठाइयो

0

विर्तामोड, २१ साउन ।

मेची प्रादेशिक अस्पतालमा स्थापना भएको पीसीआर ल्यावको आज उद्घाटन भएको छ । सङ्घीय सांसद्को अन्तर्राष्ट्रिय सम्वन्ध समिति सभापति पवित्रा निरौला खरेल र प्रदेशकी सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले ल्यावको व्यानर उघारेर उद्घाटन गर्नु भएको हो ।
प्रदेशका एक दर्जन जति सांसद्हरुको उपस्थितिमा भएको ल्याब उद्घाटन समारोहको अध्यक्षता जिल्ला समन्वय समिति प्रमुख समेत रहनु भएका अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलले गर्नुभयो । अस्पतालमा उपचाररत ५ जना कोरोना सङ्क्रमितको स्वाव सोही ल्यावमा आज नै परीक्षण गरिएको छ । विराटनगरमा रहेको प्रदेशको ल्यावमा पुनःपरीक्षण गरेपछि मात्र नतिजा सार्वजनिक गरिने बताइएको छ ।
उद्घाटन अवसरमा प्रदेशका सांसदहरु झलकसिंह दर्लामी, ओमप्रकाश सरावगी र कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले शुभकामना मन्तब्य राख्नुभयो ।
कार्यक्रममा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. पिताम्बर ठाकुरले ल्याव र संक्रमितको उपचार बारेमा जानकारी प्रस्तुत गर्नुभयो ।


यो ल्याव प्रदेश नं. १ सरकारले स्थापना गराएको हो । यसले एक चक्रमा ९० देखि ९६ जनासम्मको स्वावको नमुना परीक्षण गर्ने क्षमता राख्दछ । यो चक्र पूरा गर्न करिव २ घण्टा लाग्छ । यदि मेसिनमा राख्नका लागि स्वाब तयारी गर्ने मेसिन हुने हो भने दिनमा चौविसै घण्टा मेसिन सञ्चालन गर्न सकिन्छ । स्वाबलाई तयारी बनाउन भने एउटा स्वाबका लागि प्राविधिकलाई करिव १० मिनेट समय लाग्ने प्राविधिकले बताएका छन् । तर, त्यो काम गर्ने मेसिन जोड्ने हो भने ४ जना प्राविधिकको काम मेसिनले गर्ने र दैनिक करिव एक हजार जनाको परिक्षण सो मेसिनले गर्नसक्ने बताइएको छ ।
सो मेसिनका लागि करिब ४५ लाख रुपैयाँ लाग्ने बताइएको छ । ‘मेन्युअल गर्दा ३०० स्वाब परिक्षण गर्न सकियो भने मेसिनले गर्दा १ हजार जति स्वाब परिक्षण गर्न सकिने अवस्था छ’, अध्यक्ष पोर्तेलले भन्नुभयो । ०००००

Share.

Leave A Reply