कोरोना सङ्क्रमणबाट विराटनगरमा आज दुई जनाको मृत्यु, जम्मा ६३ जना पुग्यो

0

विर्तामोड, २१ साउन ।

कोरोना सङ्क्रमणबाट विराटनगरमा आज दुई जनाको मृत्यु भएको छ । कोशी अस्पतालको आइसोलेशनमा रहेका विराटनगर ९ का ४५ वर्षीय पुरुष र रङ्गेली ८ का ४५ वर्षीय पुरुषको मृत्यु भएको कोशी अस्पतालले जनाएको छ ।
विराटनगरका पुरुषमा श्वासप्रश्वास, ज्वरो लगायतका समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए भने रङ्गेलीका पुरुषको भने अस्पताल ल्याए लगत्तै आज मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका जनस्वास्थ्य प्रशासक ज्ञानबहादुर बस्नेतले बताउनुभयो । मृत्यु भएपछि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
मङ्गलबार पर्सामा दुई जनाको कोरोनाबाट मृत्यु भएको थियो ।
यस्तै, बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत कोभिड–१९ संक्रमितको पनि मृत्यु भएको छ । सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । मनमोहन अस्पतालबाट बलम्बु रिफर भएकी उनलाई कोरोना संक्रमण भएको १९ गते पुष्टि भएको थियो ।
नेपालमा अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ६३ जना पुगेको छ । ००००००

Share.

Leave A Reply