प्रदेश १ मा ९० वर्षीया जेष्ठ नागरिक कोरोना सङ्क्रमण मुक्त

0

विर्तामोड, २१ साउन ।

प्रदेश १ मा कोरोना सङ्क्रमित ९० वर्षीया जेष्ठ नागरिक कोरोना सङ्क्रमणमुक्त हुनु भएको छ । विराटनगरमा रहेको कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा उपचार गराइ रहनुभएकी ९० वर्षीया जेष्ठ नागरिक सङ्क्रमणमुक्त हुनु भएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो ।
विराटनगर ५ की जेष्ठ नागरिक गएको साउन १० गते कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल भर्ना हुनु भएको थियो । आज प्रदेश १ बाट उहाँसहित ५७ जना डिस्चार्ज भएका हुन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड–१९ आइसोलेशन अस्पतालबाट ३६ जना र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट २१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
विराटनगरबाट डिस्चार्ज भएकाहरुलाई सामाजिक विकास मन्त्री जीवन घिमिरे, कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दास लगायतले बिदाइ गर्नुभएको थियो । आज डिस्चार्ज हुनेमा मोरङ्गका २६, झापाका १६, सुनसरी र इलामका ६–६, धनकुटा, उदयपुर र तेह्रथुमका १–१ जना रहेका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको सङ्ख्या आठ सय ८७ जना पुगेको छ ।
प्रदेश १ मा आज १८ जना कोरोनाका सङ्क्रमित थपिएका छन् । अब प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार एक सय ८९ जना पुगेको छ । ००००००

Share.

Leave A Reply