टाउका गणना गरेर पार्टी विभाजनको सपना नदेख्न पार्टी नेतृत्वलाई चेतावनी

0

एकताका लागि अभियान चलाउने नेकपा सांसद नै गुटको छाँयामा  ।

विर्तामोड, २५ साउन ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता अक्षुुण्ण राख्ने अभियानमा संग्लन नेकपाका प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यको सिंहदरबारमा आइतबार आयोजित पत्रकार सम्मेलन । तस्बिर : रोशन सापकोटा/रासस

सत्तारुढ नेकपाका सांसदहरूले आफ्ना टाउका गणना गरेर पार्टी विभाजनको सपना नदेख्न पार्टी नेतृत्वलाई चेतावनी दिएका छन् । ६१ जना सांसदले पार्टी विभाजन उन्मुख गतिविधिविरुद्ध हस्ताक्षर गर्दै त्यस्तो चेतावनी दिएका हुन् ।
तत्कालीन एमाले र माओवादी केन्द्र पार्टी एकताका क्रममा गरिएका सहमति कार्यान्वयन गर्दै आगामी एकताको महाधिवेशनसम्म पार्टीको विधान र एकताको भावना समेटिने गरी देश र जनताको हितलाई केन्द्रमा राखेर राजनीतिक स्थायित्वलाई अझ सुदृढ पार्न तथा एकताबद्ध बनाएर अगाडि बढ्न सांसदहरूले प्रतिबद्धता जनाएका छन् ।
पार्टीभित्रका अन्तरविरोध विचार र सिद्धान्तले निर्देशित गरेर पद्धति र प्रणालीमा आधारित भएर अगाडि बढ्न पनि उनीहरूले आग्रह गरेका छन् । पार्टी एकताविरोधी हुने क्रियाकलाप तत्काल रोक्न आग्रह गर्दै उनीहरूले त्यस्ता गतिविधि नरोकेमा निस्तेज पारिने पनि उनीहरूको भनाइ छ । पछिल्लो समय पार्टी विभाजनका लागि सांसदहरू कति जना कुन पक्षमा छन् भन्ने आँकलन हुन थालेको भन्दै उनीहरूले त्यस्तो भूल नगर्न भनेका हुन् ।
सांसदहरूको हस्ताक्षरको अगुवाइ गरेका सांसद कृष्णप्रसाद दाहालले आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, ‘हामी सांसदहरूको टाउको गनेर पार्टी विभाजनको सपना देखेको भए त्यो गल्ती नगर्नुस् ।’ पार्टी विभाजन गर्नका लागि सांसदहरूको भूमिका खोजी हुने र त्यो बेला आउँदा अहिले हस्ताक्षर गर्ने सांसदले फुट अस्वीकार गर्ने सन्देश दिनका लागि अभियान चलाएको उहाँको भनाइ थियो । सांसदले कुनै पनि हदमा पार्टी विभाजनमा बल पुग्ने गरी भूमिका नखेल्ने पनि दाहालको भनाइ थियो ।
पार्टी विभाजनलाई बल दिने गतिविधि सार्वनिक रूपमा भइरहेको भन्दै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने सांसद दाहालले पार्टी एकताको पक्षमा रहेका र ‘विभाजनको विरुद्धमा रहेका नेता र जनप्रतिनिधि पनि छन् है भनेर देखाउनका लागि हस्ताक्षर अभियान संचालन गर्नुपर्ने बाध्यता आइपरेको’ बताउनुभयो ।
कसरी अगाडि बढ्ने भन्नेबारे पार्टीका संगठनभित्र छलफलको वातावरण नभएको सांसद रामकुमारी झाँक्रीको भनाइ थियो । उहाँले शीर्ष तीन नेताहरू अध्यक्षद्वय ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले अब आउने पुस्तालाई कस्तो पार्टी दिने भन्नेबारे सोचेर निर्णय लिनुपर्ने बताउनुभयो । ‘वैचारिक, सांगठनिक, राजनीतिक हिसाबले चुस्त पार्टी बुझाउँदै हुनुहुन्छ कि टुटफुट भएको खरानी पार्टी हस्तान्तरण गर्दै हुनुहुन्छ ?’ उहाँको प्रश्न थियो । २०५४ सालमा तत्कालीन एमाले विभाजित भएको स्मरण गर्दै वरिष्ठ नेता नेपाल निकट झाँक्रीले पार्टी विभाजन गरेर ‘सानो परिवार सुखी परिवार’ बनी सानो कोटरी चलाउन सकिने तर कम्युनिस्ट आन्दोलनको भावना समेट्न नसकिने बताउनुभयो ।
सांसद विशाल भट्टराईले पार्टीभित्र अस्थिरता उत्पन्न भएको अवस्थामा जननिर्वाचित सांसद किन चुप लागेर बसेका हुन् भन्ने प्रश्न उठेकाले विभाजनविरुद्ध अभियान चलाउनुपरेको बताउनुभयो । उहाँले पार्टी एकताका लागि शीर्ष नेताहरूलाई ज्ञापनपत्र बुझाउने, पार्टी कार्यालय र नेताका निवासमा धर्ना दिन पनि तयार भएको बताउनुभयो । ‘पार्टीभित्रको अहिलेको अन्तरविरोध सैद्धान्तिक र विचारको नभई पदको भएको स्पष्ट छ,’ प्रधानमन्त्री ओलीनिकट भट्टराईले भन्नुभयो, ‘यसले पार्टीलाई मात्रै नभई गणतन्त्रात्मक व्यवस्थालाई नै खतरामा पार्ने देखिन्छ । सधैं अस्थिरतामा जान सम्भव छैन अब स्थायित्व र समृद्धिमा अगाडि बढ्नुपर्छ ।’


यसैबीच, असार १० गतेदेखि सुरु भएको नेकपा स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा गर्न ओलीलाई दबाब दिनथालेपछि असार अन्तिम साता विवाद उत्कर्षमा थियो । त्यतिबेला प्रधानमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव ल्याउनका लागि संसदको विशेष अधिवेशन बोलाउन लागिएको भन्ने चर्चा नेकपाका सबै गुटमा व्यापक बनेको थियो । ठीक त्यसै बेला नेकपा सांसदहरूले एकताका लागि दबाब दिन भन्दै हस्ताक्षर अभियान सुरु गरेका थिए । त्यतिबेला प्रतिनिधिसभाका सांसदहरूको मात्रै हस्ताक्षर संकलन गरिएको थियो । हस्ताक्षर सार्वजनिक गर्ने क्रममा भने केही राष्ट्रिय सभाका सांसद पनि सहभागी छन् ।
त्यतिबेला वरिष्ठ नेता नेपाल पक्षका सांसदहरूले हस्ताक्षर अभियानलाई अगाडि बढाएका थिए भने अध्यक्ष दाहाल पक्ष पनि त्यसमा सहभागी थियो । नेपाल पक्षबाट सांसदहरू गणेश पहाडी, यज्ञराज सुनुवार, झपट रावलहरू संलग्न थिए भने पूर्वमाओवादीबाट सुरेशकुमार राई लगायतका सांसद हुनुहुन्थ्यो । उहाँहरुको अभियान गुटको अभियान बनेपछि पछि ओली पक्षीय सांसद पनि सहभागी भएका हुन् । त्यतिबेला हस्ताक्षर दुरुपयोग हुनसक्ने भन्दै ओलीपक्ष सशंकीत भएको थियो ।
त्यसपछि हस्ताक्षर अभियानको नेतृत्व ओली निकट मानिएका अर्थ समिति सभापति कृष्णप्रसाद दाहालले गर्नुभएको हो ।
हस्ताक्षर सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्ने सांसदहरूमा गुटको आभाष भएको थियो । नेपाल निकट सांसदहरूले विधि, पद्दती, पार्टीको घोषणापत्र लगायतमा आधारित भएर सरकार अगाडि बढ्नुपर्ने बताउनुभयो भने ओली पक्षका सांसदले पदका लागि विवाद सिर्जना गरेको बताउनु भएको छ ।
सांसद सुनुवार, श्रेष्ठ, राना लगायतले पार्टी विधि र विधान अनुसार नचलेको बताउनुभयो । ‘पार्टीमा दासहरू मात्रै छैनन्’ भन्ने बुझ्नुपर्ने श्रेष्ठको भनाइ थियो । सुनुवारले नेताको जन्मदिनमा जाने बाहेकका कार्यकर्ता एकताको पक्षमा रहेको भन्दै ओली समूहप्रति व्यंग गर्नुभयोे ।
सांसद भट्टराईले भने केही नेताहरूमा पदमा जाने हतारोले पार्टीभित्र किचलो उत्पन्न भएको बताउनुभयो । कोरोना र प्राकृतिक प्रकोपका बेला गाइजात्रा देखाउन नहुने उहाँको भनाइ थियो । ०००००

Share.

Leave A Reply