निरन्तरको वर्षाले झापामा यो वर्ष ७० प्रतिशत तरकारी उत्पादनमा गिरावट

0

विर्तामोड, ३१ भदौ ।

निरन्तरको वर्षाले झापामा यो वर्ष ७० प्रतिशत तरकारी उत्पादनमा गिरावट आएको छ । झापाको गौरीगञ्ज, बुद्धशान्ति, अर्जुनधारा, कमल, बिर्तामोड लगायत क्षेत्रमा लगाइएका तरकारीमा वर्षाका कारण उत्पादनमा कमी आएको छ ।
विषेश गरी पछिल्लो समय वेमौसमी तरकारी लगाउने चलन बढ्दै गए तापनि यो वर्ष अत्याधिक वर्षा भएका कारण विरुवा उत्पादन नै गर्न नसक्दा किसानहरु पीडित बनेका छन् । जसकारण तरकारीको मूल्य पनि अत्याधिक वृद्धि भएको छ ।
कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहले वर्षाले उत्पादन गर्न नसकेको भए तापनि यति नै क्षति भयो भन्ने गुनासो चाहिँ कृषकबाट नआएको बताउनुभयो । झापामा गत वर्ष ५८ वटा व्लक मार्फत् तरकारी खेती हुँदै आएकोमा टनेल बाहेक खेती गर्ने कृषकले तरकारी उत्पादन गर्न नसकेको उहाँले जनाकारी दिनुभयो । उहाँले वैदेशिक रोजगारीबाट फर्केर आफ्नै मुलुकमा केही गरौँ भन्ने उद्देश्य लिएका युवामा भने यस पटक निरासा पैदा भएको बताउनुभयो ।
झापाको अर्जुनधारा नगरपालिकामा मामाभाञ्जा कृषि फर्म सञ्चालन गर्दै आएका निर्मल अधिकारीका अनुसार विरुवा उत्पादन हुन नसक्दा सिजनमा तरकारी उत्पादन गर्न कठिनाइ भएको छ । उहाँले यो सिजन उत्पादन गरेको तरकारी मंहगो मूल्यमा बिक्री गर्न सकिने हुदाँ पनि उत्पादन गर्न नसक्दा सोचे अनुरुप आम्दानी नभएको बताउनुभयो । हाल उहाँहरुले २० विगाहमा तरकारी खेती गर्दै आउनु भएको छ । यतिखेर बोडी, करेला, काँक्रा, कोपी, टमाटर, सिमी, क्याप्सिकोन, फर्सी लगायतका तरकारी लगाउने तयारी भएको थियो । तर, विरुवा उत्पादनमा ढुसीजन्य रोग लागेपछि समस्या भएको छ ।
बिर्तामोड नगरपालिकाका कृषि अधिकृत राजेन्द्र कडरियाले टनेल भित्रै पनि तापक्रम नमिल्दा विरुवा उत्पादन हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘७० प्रतिशत भन्दा बढी तरकारी उत्पादनमा गिरावट आउने छ ।’ अत्याधिक वर्षाका कारण आउँदै गरेको चाडपर्वमा तरकारीको मूल्य थप आकसिने कडरियाले जिकिर गर्नुभयो । झापाका अधिकांश कृषकले आफूले खानका लागि लगाएको तरकारी समेत पानीले डुवाउ भएपछि बजारको भर पर्नु परेको छ ।
झापाको कृषिउपज बजार केन्द्रमा भारत र पहाडी जिल्लाबाट आयात भएका तरकारी मात्र बिक्री भइरहेको पाइएको छ । झापा लगायत तराई क्षेत्रमा उत्पादित तरकारी बजारमा नआएको स्थानीय व्यवसायीको भनाइ छ । ००००००

Share.

Leave A Reply