रहिशा शाह श्रेष्ठ र ब्रोकर नम्बर ५३ लाई समेत कारबाही

0

विर्तामोड, ८ असोज ।

नेपाल धितोपत्र बोर्डले संगठित संस्थाका सञ्चालकलाई पहिलोपटक कारबाही गरेको छ । बोर्डले हिमालयन डिष्टिलरीकी पूर्व सञ्चालिका रहिशा शाह श्रेष्ठलाई ७५ हजार रुपैयाँ जरिवाना तिराएको हो ।
शाहले डिष्टिलरीको सञ्चालकबाट राजीनामा दिएको १ वर्ष नपुग्दै सोही कम्पनीमा आफ्नो नाममा रहेको शेयर बिक्री गरेकी थिइन् । यो कारोबार सूचीकृत संगठित संस्थाको संस्थागत सुशासन सम्बन्धी निर्देशिका विपरित रहेको बोर्डले जनाएको छ ।
सोही आरोपमा बोर्डले ब्रोकर नम्बर ५३ लाई समेत कारबाही गरिएको छ । इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल प्रा.लि. नामको उक्त ब्रोकरलाई बोर्डले डेढ लाख रुपैंया जरिवाना तिराएको हो । शाहको नाममा रहेको शेयर बिक्री गर्दा धितोपत्र व्यवसायी नियमावली तथा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने नियमावलीको व्यवस्था र सूचिकृत संगठित संस्थाको संस्थागत सुशासन सम्बन्धी निर्देशिका समेत उल्लंघन गरेको बोर्डले ठहर गरेको छ ।
ब्रोकरले शेयर बिक्री गर्दा कारोबार गर्न मिल्ने वा नमिल्ने शेयरको सन्दर्भमा आवश्यक सावधानी नअपनाएका कारण यस्तो कारोबार हुन पुगेको बोर्डको ठहर छ । त्यस्तै, सम्पत्ति शुद्धीकरणसम्बन्धी निर्देशन बमोजिम केवाईसी विवरण अद्यावधिक नगरेको पाइएको समेत बोर्डले जनाएको छ ।
यो कारबाही सूचीकृत संस्थाका सदस्यलाई गराइएको पहिलो कारबाही हो । बोर्डले धितोपत्र सम्बन्धी कानूनको प्रबलीकरणलाई सशक्त बनाउँदै लैजाने क्रममा गरिएका यस्ता कारबाहीबाट धितोपत्र सम्बन्धी कसूरहरुको न्यूनीकरण भई दोस्रो बजार कारोवार थप स्वच्छ र पारदर्शी हुने र बजारका सम्बद्ध पक्षहरुले ऐन नियमको पालनातर्फ थप सजगता अपनाउने बोर्डले अपेक्षा गरेको छ । ०००००

Share.

Leave A Reply